पत्रकारलाई विशेष राहत दिन महासंघकाे आग्रह



पत्रकारलाई विशेष राहत दिन महासंघकाे आग्रह

काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अहिलेको जोखिमका बेला सञ्चार क्षेत्रले ठूलो जोखिम उठाएर जनतालाई सुचना दिईरहेकोमा त्यसको प्रशंसा गर्दै पत्रकारहरुका लागि राहतको विशेष प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

महासंघका तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्षले जोखिमको समयमा पत्रकारको सुरक्षा र सञ्चारमाध्यमको निरन्तरता एवं प्रभावकारिताका लागि आवश्यक सामग्रीको उपलव्धता र राहत प्याकेज ल्याउन आग्रह गरेका हुन् ।

जस्तोसुकै असहजतामा पनि चुनौतिको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्यतथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै बिश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको आर्चायले बताएका छन् ।

अहिलेको बेला सरकार र सञ्चारमाध्यमबीच सहकार्य गरी आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेण्टाइनमा बसेका विद्यार्थीका लागि आवश्यक सामग्रीको उत्पादन र प्रशारणतर्फ योजना बनाइनुपर्ने पनि उल्लेख गरिएको छ ।

यस्तै विज्ञप्तिमा स्वतन्त्र र निर्भिक पत्रकारिताका लागि आवश्यक वातावरण सिर्जना गर्न सरकार तथा समाजका हरेक वर्ग र समुदायसँग अपिल गरिएको छ । साथै कोरोनाबारे अफवाह वा भ्रम सिर्जना हुने कुनैपनि सामग्री प्रकाशन प्रशारण नगर्न समेत आह्वान गरिएको छ ।

हालको जोखिमपूर्ण अवस्थामा समस्त पत्रकार तथा सञ्चारकर्मीले निर्वाह गरेको भूभिकाको उच्च सम्मान गर्दै आचार्यले पत्रकारहरुलाई फिल्डमा जाँदा सकेसम्म बचेर काम गर्न समेत सचेत गराएका छन् ।

अभियान पोष्ट