काठमाडौ प्रेसले गुहार्याे पत्रकार महासंघ



काठमाडौ प्रेसले गुहार्याे पत्रकार महासंघ

काठमाडौं । काठमाडौ प्रेस डटकम अनलाइनले प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारको निर्देशनमा नै आफ्नो साइटबाट समाचार डिलिट गरिएको बताएको छ ।

नेपाल पत्रकार महासंघलाई पत्रमार्फत विहिवार जानकारी दिंदै काठमाडौ प्रेस डटकमले आफ्नाे वेब डेभलपर सिरान टेक्नोजोलिज प्रालिको प्यारेन्ट कम्पनी एफ वानले प्रधानमन्त्रीका सल्लाहकारको निर्देशनमा समाचार हटाइएको दावी गर्दैै पठाएकाे पत्र अभियानपाेष्टलाई प्राप्त भएकाेे छ ।

साेे पत्र काठमाडौ प्रेेसडटकमका सम्पादक गोविन्द परियारले चैत्र २० गते विहिवार महासंघलाई पठाएका थिए । पत्र प्राप्त भएकै दिन महासंघकाे तर्फबाट महासचिव रमेश विष्टले एक विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी र साइबर आक्रमणकारीसहित संलग्न सबैलाई कारवाहीकाे माग गरेका थिए ।

साे पत्रमा भनिएको छ–

‘शिरान टक्नोलोजिजले कम्पनीका नेतृत्वमा रहेका ती व्यक्तिहरुले हामीसँग समाचार डिलिट गर्नुपर्ने केही कारणहरु दोस्रो दिन खुलाएका छन् । उनीहरुले भनेअनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले तत्काल समाचार डिलेट गर्न उनीहरुलाई निर्देशन गरिरहेका थिए । सुरुमा अलमल भए पनि प्रधानमन्त्रीका सल्लाहकारबाटै त्यस्तो निर्देशन आएपछि समाचार डिलिट भएको हामीलाई जानकारी गराउँदै माफी मागेका छन् ।’

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा विष्णु रिमाल छन् भने प्रेस सल्लाहकार सूर्य थापा छन् ।

काठमाडौं प्रेसले २० चैतमा लेखेको यही पत्रका आधारमा पत्रकार महासंघका महासचिव बिष्टले सल्लाहकारहरुको निर्देशनमा अनलाइनको समाचार डिलिट भएको बताउँदै पुर्ण प्रेस स्वतन्त्रताकाे रक्षाका लागि अपिल गरेका थिए ।

काठमाडौं प्रेसले महासंघलाई लेखेको पत्रमा डेभलपर कम्पनीका तर्फबाट विश्वास ढकाल, सुवास शर्मा र प्रज्ज्वल महर्जनले पाालैपालो फोन गरेर ‘समाचार हटाइदिनै पर्यो, हामीलाई माथिबाट ठूलो दबाब आयो’ भनेको उल्लेख छ ।

काठमाडौं प्रेसले १८ चैतमा ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षमा समाचार लेखेपछि सो समाचार हटाउन प्रधानमन्त्रीका सल्लाहकारहरुको दबाब परेको र सोअनुसार आफ्नै डेभलपरले हटाइदिएको महासंघलाई लेखेको पत्रमा उल्लेख छ ।

सो प्रेसले महासंघलाई लेखेको पत्रमा महासंघलाई आवश्यक सहयोग गर्न र आवश्यक परे सडक संघर्षसमेत अघि बढाउन माग गरिएको छ ।

महासंघले काठमाडौं प्रेसको यही विज्ञप्तिलाई उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले महासंघको नेतृत्व र कार्यशैलीकाे चर्काे विरोध गर्दै आएका छन् ।

महासंघले विज्ञप्तिमा प्रधानमन्त्रीका सलालहकारकै निर्देशनमा समाचार हटाइएको जानकारी प्राप्त भएको उल्लेख गरेको थियो ।

महासंघले विज्ञप्तिमा भनेको थियो–

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार र प्रेस सल्लाहकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको हो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *