अनलाइनमा पढाउनू : संघ, प्रदेश भन्छ– कहाँ छ र इन्टरनेट?



अनलाइनमा पढाउनू : संघ, प्रदेश भन्छ– कहाँ छ र इन्टरनेट?

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि सबै तहका विद्यार्थी घरमा थन्किएको डेढ महिना बित्न लाग्यो। शिक्षण संस्था बन्द भएपछि संघ सरकार वैकल्पिक शिक्षण विधि अपनाउन निर्देशन दिइरहेको छ। तर प्रदेश सरकार भने अलमलमा परेको छ।

तत्काल विद्यालय खुल्ने सम्भावना नभएको भन्दै सरकारले वैकल्पीक शिक्षण विधिबाट पढाउने दाबी गरिरहेको छ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन कक्षा संचालनका लागि पाठ्यसामग्री तयार गरिसकेको दाबी गरिरहेको छ। तर नेपाल लाइभले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयमा बुझ्दा बागमती प्रदेशबाहेक अन्य प्रदेशका एक तिहाइ विद्यार्थी पनि इन्टरनेटको पहुँचमा नभएको खुलेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग परीक्षा र पठनपाठन संचालनका विषयमा छलफल गरिरहेको बताएका छन्। तर सबै प्रदेशमा सबैको पहुँच पुग्ने साधनको अभावका कारण मन्त्रालयले शिक्षण विधि निर्धारण गर्न सकेको छैन।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सिकाइ चौतारीको आधिकारिक वेबसाइट (लर्निङ.सिइआरआइडी.जिओभी.एनपी)मा प्रारम्भिक कक्षादेखि कक्षा १० केही विषयबाहेक अन्य विषय स्वअध्ययन गर्न सकिने दाबी गरिएको छ। तर यो पनि सिकारुमैत्री छैन। अनलाइनमा नराखिएका केही विषयकमा पाठ्यसामाग्री तयार हुँदै गरेको मानवस्रोत तथा विकास केन्द्रका प्रमुख तुलसी प्रसाद थपलियाको भनाइ छ। उनका अनुसार अहिले एनटिभी प्लसले एसइई लक्षित गणित, विज्ञान तथा अङ्ग्रेजी विषयको कक्षा सञ्चालन गरिरहेको छ।

सहर केन्द्रित केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन्। देशभर अध्ययनरत कति विद्यार्थी अनलाइनको पहुँचमा छन् भन्ने जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग पनि छैन।

प्रदेश २ का सामाजिक विकासमन्त्रीले नवलकिशोर साहले प्रदेश २ मा गरिबीको रेखामुनिको जनसंख्या धेरै रहेको र अधिकांश परिवारमा मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियो सहज पहुँच नभएकाले तत्कालै अनलाईन कक्षा संचालन गर्न सम्भव नभएको बताएका छन्। एसइई, कक्षा ११ र १२ को परीक्षा तथा नयाँ शैक्षिक सत्र सुरु गर्न कोरोना नियन्त्रण भएर लकडाउन खुल्ने दिन पर्खिनुपर्ने उनले बताएका थिए।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख तुलसीप्रसाद थपलियाले पनि  वैकल्पिक शिक्षणविधिको कमी भएको र लकडाउन नखुली नियमित पढाउन सक्ने अवस्थामा धेरै विद्यालय नरहेको स्वीकार गर्छन्। ‘हामीसँग स्रोत एकदमै कम भयो,’ थपलियाले भने, ‘लकडाउन नखुली नियमित पढाइ हुने सम्भावना कम छ।’

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *