नेकपा नेता तथा चर्चित जनकलाकार माइला लामा रिहा



नेकपा नेता तथा चर्चित जनकलाकार माइला लामा रिहा

काठमाडाैं । चर्चित जनवादी कलाकार तथा नेकपा केन्द्रीय नेता माइला लामा लामो समयको हिरासत बसाइपछि रिहा भएका छन । लामालाई सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने ब’म वि’स्फोटको मुद्दा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो ।

नख्खुबाट रिहा भएलगत्तै उनलाई अर्को मुद्दामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्दा लगाई सङ्खुवासभा पुर्याएको थियो ।

सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर कारागार मुक्त भएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य लामालाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्याएको थियो । लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार÷सङ्गीतकार पनि हुन् । लामा जनयुद्धका गम्भीर घाइते योद्धा पनि हुन् ।

लामाको रिहाइले नेकपा नेता कार्यकर्तामा उत्साह छाएको छ । उनका शुभचिन्तहरुले सामजिक सञ्जालमा उनको तस्विर राख्दै रिहा भएकोमा बधाई दिदै स्वागत गरेका छन् ।

लामा रिहा भए पनि नेकपा सचिवालय सदस्य सुदर्शन, केन्द्रीय सदस्यहरू वीरजंग, रणबीर लगायतका कयाैं नेता कार्यकर्ता अझै जेलमै छन। उनीहरूलाई छोड्नका लागि प्रकिया सुरू भएकाे भन्दै ओली सरकारले रिहाइ लम्ब्याइरहेको छ ।

अभियान पोष्ट