रातो मत्स्येन्द्रनाथको परम्परा तोडियो, रथयात्रा अझै अन्योलमा



रातो मत्स्येन्द्रनाथको परम्परा तोडियो, रथयात्रा अझै अन्योलमा

रथारोहण गरिएको चौथो दिनभित्रमा रथयात्रा सुरु गरिसक्नुपर्ने रातो मत्स्येन्द्रनाथको परम्परा तोडिएको छ । शनिबार रथारोहण गरेको मत्स्येन्द्रनाथको रथयात्रा बुधबारसम्म पनि गरिएको छैन । जसले हालसम्मको परम्परालाई तोडेको संस्कृतिविद्हरू बताउँछन् ।

चैत २८ गते पहिलोपटक स्थगित भएको रथ बनाउने काम असार १० देखि सुरु भएको थियो । पटकपटक स्थगित हुँदै अन्योलका बीच साउन १० गते रथारोहण पनि सम्पन्न भएको छ । अहिले रथयात्राको लागि भैरवको मूर्ति स्थापना गर्ने लगायतका सबै तयारी पूरा गरिएको जानकारहरू बताउँछन् । तर अझै पनि रथयात्राबारे अन्यौल कायमै छ । रथयात्राको टुङ्गो नलाग्दै गरिएको रथारोहणको चारदिनसम्म रथयात्रा नगरेर परम्परा भने तोडिएको छ ।

संस्कृतिविद् हरेराम जोशी रथारोहण गरिएको चौथो दिनभित्र रथयात्रा गरिसक्नुपर्ने नियम यस वर्षदेखि तोडिएको बताउँछन् । उनी पछिल्ला केही वर्षमा रथयात्राको समयलगायतका धेरै परम्पराहरू तोडिँदै आएकोप्रति असन्तुष्टि व्यक्त गर्छन् ।

‘पहिले शरद् ऋतुमा गरिने रथयात्रा १४ औं शताब्दीपछि वसन्त ऋतुमा गर्न थालियो । अब यसलाई वर्षा ऋतुमा गर्नेगरी परम्परा बसाउन खोजिँदैछ कि ? भन्ने लागेको छ ।’ जोशीले अनलाइनखबरसँग भने ‘रथयात्रा गर्ने नियम नै तोड्न थालिएको छ, चौथो दिनभित्र रथयात्रा गर्नैपर्ने नियम तोड्नु त सामान्य हुने भइसक्यो ।’

अर्का संस्कृतिविद् वसन्तराज शर्माले पनि पुरानो परम्परा तोडिएकोभन्दै असन्तुष्टि जनाए । रथारोहणपूर्व भक्तपुरको तलेजु मन्दिरमा स्वीकृति लिन जाने परम्परा यसअघि नै तोडिसकेको भन्दै अब अर्काे परम्परा तोडिएकोप्रति उनले असन्तुष्टि जनाएका हुन् । ‘पहिले भक्तपुरको तलेजु मन्दिरमा आएर रथारोहणको स्वीकृति लिने चलन थियो । ताडपत्र लिएर आएका कर्मचारीले मन्दिरमा आएर सोही ताडपत्रमा नेवारी भाषामा लेखिएको कुरा पढेपछि अनुमति पाएको मान्ने चलन थियो । त्यो ताडपत्रमा राजाको प्रशस्तीसँगै ‘नियमसंगत रथयात्रा सञ्चालन गर्नू’ भन्ने कुरा उल्लेख छ । केही वर्षदेखि यो पनि परम्परा तोडिएको छ । शर्माले अनलाइनखबरसँग भने ‘अहिलेदेखि चारदिनमा रथयात्रा गर्ने परम्परा पनि तोडियो ।

शनिबार रथारोहणसँगै गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले अर्काे बैठक बसेर मात्रै रथयात्रा सम्बन्धी निर्णय गर्नसकिने बताएका थिए । तर अहिलेसम्म रथयात्राको विषयमा बैठक बसेर निर्णय गर्न सकिएको छैन ।

पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्याय रथारोहणको चौथो दिनभित्रै रथयात्रा नगरेर परम्परा तोडिएको बताउँछन् । ‘रथारोहणको सबै तयारी पूरा भएको छ । तर रथयात्रा कहिले गर्ने भन्नेमा अन्यौल कायमै छ’ अनलाइनखबरसँग उनले भने ‘मैले अहिलेसम्म रातो मत्स्येन्द्रनाथको रथयात्रा रथारोहणको चौथो दिन कटेको इतिहास सुनेको छैन ।’

‘महामारीमा धेरै संस्कृतिहरू परिवर्तन भएका छन्’

इतिहासकारहरू भने महामारीको बेलामा संस्कृतिमा केही परिवर्तन आउने चलन पहिलेदेखि नै चल्दै आएको बताउँछन् । इतिहासविद् डा. महेशराज पन्तले विभिन्न आलेखमा वि.सं. १९७२ देखि सुरु भएको प्लेग, १८७६ देखि सुरु भएको विपत्तिजस्ता महामारीको समयमा यस्ता परम्पराहरूमा परिवर्तन हुँदै आएको उल्लेख गरेका छन् ।

विभिन्न नेवारी टिपोर्ट, भाषावंशावली जस्ता पुस्तकहरूको आधारमा पन्तले लेखेको आलेख अनुसार समाजमा रहेको जातिप्रथालाई समेत महामारीले कमजोर बनाएको उदाहरण पर्याप्त पाइएको छ । विंसं १७४० को एउटा नेवारी टिपोर्ट अनुसार सो समयमा आएको महामारीले गर्दा ठूलो जातको लास सानो जातले छुन हुँदैन भन्ने मान्यतामा परिवर्तन आएको थियो।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *