पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बाढीले बगायो



पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बाढीले बगायो

अविरल वर्षापछिको बाढीले धादिङ र चितवन जोड्ने मौवाखोलाको पुलको एकतर्फी भाग बगाएको छ।

सोमबार दिउँसो करिब २ बजेतिर आएको बाढीले धादिङतर्फ मौवाखोलाको पुल करिब पाँच मिटर सडक कटान गरेको हो।धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले  दिएको जानकारीअनुसार तत्काल पुल मर्मत गर्न सक्ने अवस्था छैन।

‘पानी परिरहेको छ। धादिङदेखि मौवाखोला पुग्ने ९ ठाउँमा पहिरो छ,’ उनले  भने, ‘मौवाखोलाकै बाढीले पुलको एकतर्फ सडक कटान गरेको हो। अहिले खोलामा पानी केही कम भएको छ तर तत्काल मर्मत गर्न सकिने अवस्था छैन।’

भोलिसम्म उक्त पुल मर्मत गरेपछि पृथ्वी राजमार्ग सुचारू हुने उनले जानकारी दिए। उक्त पुलमा क्षति पुगेपछि पृथ्वी राजमार्गको काठमाडौंसँगको सम्बन्ध टुटेको छ।

‘पाँच मिटरजति कटान भएको सडकमा माटो भरेर सडक सुचारू गर्नुपर्छ त्यसका लागि पानी पर्न कम हुनुपर्छ,’ उनले भने, ‘आज पुल मर्मत सम्भव छैन। वर्षा थामियो भने भोलि मर्मत गर्छौं।’

बाढीले पुलसँगैको सडक कटान गरेपछि धादिङतर्फ फसेका करिब २२ वटा सवारी साधन र एक सय जनाजति मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको उनले जानकारी दिए।‘हिँडेर पनि चितवनतर्फ जान जोखिम छ। त्यहाँ रहेका मानिस र सवारी साधनलाई धादिङतर्फ सुरक्षित स्थानमा लगेका छौं,’ प्रजिअ तामाङले भने।

उक्त खोलामा तत्काल डाइभर्सनसमेत राख्न नसकिने भएकोले सडक सुचारू गर्न कठिनाइ भएको उनले बताए।चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मौवाखोला, कालीखोलालगायतमा सडक अवरूद्ध रहेको जानकारी दिए।‘मुग्लिन-नारायणगढ सडकखण्डका कालीखोलालगायत ठाउँका पहिरो हटाउने काम भइरहेको छ,’ उनले  भने।

प्रजिअ भट्टराईका अनुसार अविरल वर्षासँगैको बाढीले नारायणी नदीको वहाव बढेको छ। देवघाट र पुल्चोकमा खतराको चिन्ह पार गरेकोले नदी आसपासका जनतालाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले बताए।

नारायणी नदी किनारमा बनाइएको हात्तीका दुइटा मुर्ति पनि नारायणीको बाढीले बगाएको छ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *