प्रधानमन्त्रीप्रति विश्वासको मतका लागि आजै मतदान



प्रधानमन्त्रीप्रति विश्वासको मतका लागि आजै मतदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको  छ ।

अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।
संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ । माधव–झलनाथ पक्षका समेत एमालेका सबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।

अभियान पोष्ट