उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ



उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ

काठमाडौं । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् ।

फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी त्यसको संयोजक पोखरेललाई बनाएर प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए ।

यसबीचमा पोखरेलले कोरोनाकेन्द्रित भएरै उच्चस्तरीय समन्वय समितिका बैठकहरु नियमित गर्दै पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाए ।

पछिल्ला दिनमा उनले उच्चस्तरीय समितिबाट कोरोना संक्रमणको जोखिमविरुद्ध मन्त्रालयगत कामहरुको निर्णय गराउँदै सरोकारवालाहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन् ।

अर्थतन्त्रमा भइरहेको जोखिममाथि पनि केन्द्रित भएका पोखरेलले प्रधानमन्त्री ओलीलाई नियमित रिपोर्टिङ पनि गरिरहेका छन् ।

चिकित्सकहरुले काठमाडौंका केही अस्पतालहरुमै नमूना संकलन केन्द्रको व्यवस्था गर्न र प्रदेशस्तरीय ल्याब तुरुन्त राख्न सुझाव दिएलगत्तै पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई बोलाएर सोहीबमोजिम काम गर्न निर्देशन दिए ।

यति सबै सक्रियता र चनाखो हुँदा हुँदै पनि नेपालमा कोरोना भाइरस भित्रिन नदिन सरकारले सबै सीमाना र विमानस्थल बन्द किन गरिरहेको छैन ? केही दिनलाई लकडाउन गर्दा के बिग्रिन्छ ? यीसहित सरकारको तयारी के कस्तो छ भन्ने  प्रश्नमा उपप्रधानमन्त्री पोखरेल यसरी प्रस्तुत भए ।

जनतालाई आश्वस्त पार्ने हिसाबले सरकार अहिले के गरिरहेको छ र हामी अहिले कुन चरणमा छौं ?

सबैभन्दा पहिले त यो कोभिड १९ को संक्रमणको विश्वव्यापी जुन आतंक सिर्जना भएको छ, त्यो हामी कसैले पनि बिगतमा कल्पना गरेको अन्दाज गरेको विषय थिएन, यो अपर्झट आइलाग्यो । यसको विश्वव्यापी प्रभाव छ । १५० भन्दा बढी देशमा यसको संक्रमण भइसकेको छ ।

यो गम्भीर महामारीको समस्या आइलागेपछि सरकारले शुरुदेखि नै गम्भीरताका साथ लिनुपर्छ भनेर यसप्रति आवश्यक सजगताका लागि संयन्त्रगत व्यवस्था पनि गरेको हो । संयन्त्रगत व्यवस्थापछि हामी मुख्यतः तीनवटा कुरामा केन्द्रित भयौं र त्यसक्रममा संक्रमण भित्रिनै नदिन बढी सचेत भयौं ।

पाहिलो विश्वव्यापीरुपमा भइरहेको डरलाग्दो विस्तारले हामीलाई पार्न सक्ने प्रभावको बारेमा सुक्ष्म अध्ययन गर्ने कुरामा हामी केन्द्रित भयौं । दोस्रो कुरा जनतालाई सचेत बनाउन के के गर्न सकिन्छ भन्ने बारेमा काम गर्न थाल्यौं । तेस्रो कुरा चाहिँ,संक्रमण आइहाल्यो भने रोकथामको बारेमा के के गर्न सकिन्छ भन्ने बारेमा हामी मुलतः केन्द्रित भएका हौं ।

यी तीन कुरामा केन्द्रित भइरहँदा अहिलेसम्म के–के काम गर्नुभयो ?

हामीले गर्नुपर्ने कामहरु सुत्रवद्ध रुपमा थालेका छौं र कतिपय काम भइसकेका पनि छन् । आवागमनलाई नियन्त्रण गर्ने,बन्देज लगाउने कुरा हामीले गरेका हौं । सबैभन्दा पहिले कोरोनाबाट अत्यन्त धेरै प्रभावित भएका मुलुकबाट आउने यात्रीलाई नियन्त्रण गर्‍यौं ।

चेकजाँचमा धेरै नै कडाइ गर्ने र भारतबाट हुने आउजाउलाई व्यवस्थित तथा नियन्त्रित गर्न हामी केन्द्रि भयौं । अर्को कुरा जनतालाई सचेत बनाउन सन्चारमाध्यमलाई परिचालित गर्ने,गलत सूचना फैलिन नदिन सही सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न खोजेका हौं । गलत सूचना सिर्जना गर्नेहरुलाई गम्भीररुपमा लिएका पनि छौं ।

रोकथामको सन्दर्भमा हामीले ल्याबहरुको स्थापना गर्नेदेखि आवश्यक औषधी र उपकरणहरुको व्यवस्था गरेका छौं । प्रदेशस्तरमा ल्याबहरु स्थापना गर्ने, परीक्षण गर्ने संकलन केन्द्रहरु स्थापना गर्ने, स्वास्थ्यकर्मीहरुलाई व्यविस्थत ढंगले परिचालन गर्ने काम भएको छ । यो काममा जोखिम मोलेर खट्ने हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको इन्सिेन्टिभको कुरा पनि गरेका छौं ।

 

यो सँगसँगै जनस्तरबाट पनि यसमा सहयोग र हातेमालो जाने कुरा सरकारले चाहेको छ । जनस्तरबाट हामीले साथ खोजेका छौं । हामी दिनहँु बैठक बसेर सबै योजनाका साथ अघि बढेका छौं । संक्रमण आउनै नदिने हाम्रो मुख्य प्राथमिकता हो र यसमा जनताको साथ चाहिन्छ ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *