यसकारण गिरिजाबाबु पहिलाे राष्ट्रपति बन्न पाएनन्



यसकारण गिरिजाबाबु पहिलाे राष्ट्रपति बन्न पाएनन्

काठमाडौ । पहिलो संविधानसभाकालको सबभन्दा ठूलो राजनीतिक दल तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेताले चरम संक्रमणकालबाट गुज्रिइरहेको त्यतिबेलाको नेपालका केही रोचक राजनीतिक घटनाक्रमहरुको खुलासा गरेका छन् । करिव अढाई सय वर्षदेखि राष्ट्रप्रमुखका रुपमा निरन्तरता पाउँदै आएको राजतन्त्र उन्मूलन भैसकेको तर नयाँ अन्तरिम संविधानले व्यवस्था गरेअनुरुप राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति चयन भइनसकेको जटिल अवस्थामा त्यतिबेलाको दोस्रो पार्टी नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पहिलो पार्टी नेकपा (माओवादी) कै समर्थनमा नेपालको प्रथम राष्ट्रपति बन्ने चर्चा थियो ।

तर, अन्ततः माओवादीले अर्कै व्यक्ति (रामराजाप्रसाद सिंह) लाई आफ्नो राष्ट्रपतीय उम्मेदवार बनायो र गिरिजाबाबु पछि हटे । कांग्रेसले महामन्त्री रामवरण यादवलाई राष्ट्रपतीय उम्मेदवारका रुपमा अघिसार्‍यो र उनी नै बन्न पुगे नेपालको प्रथम राष्ट्रपति । तीव्र छिनाझपटीका बीच यस्तो नाटकीय घटनाक्रम कसरी घट्यो त ? तत्कालीन माओवादीका शीर्षस्थ नेतामध्येका एक सीपी गजुरेलले त्यसबारे यथार्थताको खुलासा यसरी गरेका छन्–

जसरी भए पनि सत्ता नै चाहिने बानी परेका गिरिजाबाबुको आँखा लोकतान्त्रिक गणतन्त्रको प्रथम राष्ट्रपतिमा परेको कुरा सबैले बुझ्ने गरी नै प्रकट भएको हो । त्यसमाथि पनि नेपाली कांग्रेसले त आफ्नो पूरै शक्ति खर्च गरेर आफ्ना वयोवृद्ध नेतालाई त्यो पदमा पुर्‍याउन कुनै कसर बाँकी राखेन ।

नेपालबाट धेरै नै टाढा पर्ने शक्तिको समर्थन आफूलाई भैहाल्छ र आफ्नो पुरानो गुटका नेताको साथ पाइन्छ अनि राष्ट्रपति पद हात लागिहाल्छ कि भन्ने आशा गरेका देउवाले पनि निराश भएर पछि हट्नुपर्‍यो । विदेशी शक्तिकेन्द्रहरुले गिरिजाबाबुलाई नै आफ्नो सशक्त प्रतिनिधि ठाने र उनैलाई जिताउने काममा सक्रिय भएर चलखेलमा लागे ।

नेपाली राजनीतिमा विदेशी शक्तिहरुको चलखेल अभूतपूर्वरुपमा बढेको नेपालको स्थितिमा यहाँका राजनीतिक पार्टीहरु त्यसबाट अत्यधिक प्रभावित हुन पुगेको देखियो । यसै अवस्थामा नेपालको राजनीतिक समीकरणका लागि बाहिरबाट एउटा समीकरण अगाडि आयो– गणतन्त्रको प्रथम राष्ट्रपति गिरिजाप्रसाद कोइराला, तोकिएको सर्तअनुसार सरकार बनाउने नेकपा (माओवादी) ले अनि संविधानसभा अध्यक्षको पद नेकपा (एमाले) लाई ।

यो समीकरणले निकै व्यापकता पायो । यो समीकरणलाई नै त्यतिखेरको नेपालको राजनीतिको मूलप्रवाहसरह नै बनाइयो । तर, हाम्रो पार्टी (तत्कालीन नेकपा (माओवादी)) ले चाहिँ यो प्रवाहसँगै बग्न इन्कार गर्‍यो; गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने कुरामा असहमति जनायो । यसका चार प्रमुख कारण थिए– प्रथम, साम्प्रदायिक सोचबाट माथि उठेका मधेशी मूलका स्वतन्त्र गणतन्त्रवादी व्यक्तित्वलाई हामी गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति बनाउन चाहन्थ्यौं; दोस्रो, राष्ट्रपति र उपराष्ट्रपति पद समावेशी बनाउन चाहन्थ्यौं; तेस्रो, संविधानमा व्यवस्था भएअनुसार नै यो पद व्यवहारमा पनि आलंकारिक नै गराउनु आवश्यक थियो र चौथो, विदेशी शक्तिको चलखेलको दबावबाट राष्ट्रको सर्वोच्च पदको चयन हुनु हामीलाई उचित लागेको थिएन ।

त्यसकारण गिरिजाबाबुको उम्मेदवारीलाई हामीले अस्वीकार गर्‍याैं । हाम्रो पार्टीको यो निर्णयले नेपाली राजनीतिमा एउटा तरंग पैदा गरायो । तर, त्यो उचित नै थियो । हामी माओवादी हौं, माओले हामीलाई सिकाउनुभएको छ– ‘ज्वारभाटाका विरुद्ध जानु मार्क्सवाद हो; ज्वारभाटाका विरुद्ध जाने अभ्यास गर्नै पर्दछ ।’ यिनै कारणहरुले गर्दा अन्ततः नेपालको प्रथम राष्ट्रपतिको पद गिरिजाबाबुलाई ‘जुरेन’ । गजुरेलको पुस्तक ‘क्रान्ति र प्रतिक्रान्तिका शृंखला’ बाट । साभार : न्युुजकााेशेली  डटकम

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *