कांग्रेसमा राप्रपा नेता सुनील थापालाई भित्र्याएर सहमहामन्त्री बनाउने तयारीमा देउवा



कांग्रेसमा राप्रपा नेता सुनील थापालाई भित्र्याएर सहमहामन्त्री बनाउने तयारीमा देउवा

राप्रपा (संयुक्त) का नेता सुनीलबहादुर थापालाई कांग्रेस प्रवेश गराउने गरी सभापति शेरबहादुर देउवाले तयारी गरेका छन् ।

पदाधिकारी तहमै ल्याउनेमा कुरा मिलेमा अबको एक हप्ताभित्रै थापासहितका केही केन्द्रीय सदस्य कांग्रेस प्रवेश गर्ने जनाइएको छ ।

यसअघि पनि कांग्रेस प्रवेशका लागि थापाले महामन्त्रीमा दाबी गरेका थिए । तर, कांग्रेसमा उनलाई महामन्त्रीमा ल्याउनेबारे शीर्ष नेतृत्व तहमा सहमति जुटेको थिएन ।

फेरि १४औँ महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारी दिनै परे सहमहामन्त्री दिएर भए पनि ल्याउने गरी देउवाले उपसभापति विमलेन्द्र निधिलाई वार्ताको जिम्मा दिएका छन् ।

‘कांग्रेस प्रवेश गर्नेबारे उहाँसँग धेरै अघिदेखि कुरा हुँदै आएको थियो । अहिले पनि भइरहेको छ । पदाधिकारी तहमै कुरा मिले अब यो हप्ताभित्र उहाँ केही केन्द्रीय सदस्यसहित कांग्रेस प्रवेश गर्दै हुनुहुन्छ,’ सभापति देउवानिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘कांग्रेसमा उहाँको दाबी पदाधिकारीमा पनि महामन्त्रीमा छ, तर पार्टीले सहमहामन्त्री दिएर भित्र्याउने तयारी गरेको छ ।’

थापाको कांग्रेस प्रवेशको विषयमा उपसभापति विमलेन्द्र निधि निरन्तर छलफल र सम्पर्कमा छन् । निधिले थापा र उनीसँगै आउने केन्द्रीय सदस्य टुंग्याएपछि पार्टी प्रवेशको कार्यक्रम राख्ने तयारी भएको जानकारी सभापति देउवानिकट स्रोतले दियो ।

तर, १४औँ महाधिवेशनको मुखमा थापालाई पदाधिकारी तहमै ल्याउनेबारेमा कांग्रेस शीर्ष नेतृत्व एकमत भने छैन ।

महाधिवेशनको मुखमा सभापतिले ठूलो पद दिएर नेता भित्र्याउँदा आफूहरूलाई अप्ठ्यारो पर्ने बुझाई पूर्वसंस्थापनको छ ।

तैपनि महाधिवेशन नजिक आएकोले आफूलाई पनि सहयोग जुट्ने हुँदा सहमहामन्त्री दिएर भएर पनि ल्याउने तयारीमा देउवा पुगेका हुन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील मन्त्री पनि भइसकेका छन् ।

राप्रपामा अरू नेताहरूले राजसंस्था र हिन्दूराष्ट्रका लागि वकालत गरे पनि थापा गणतन्त्र पक्षधर नेता मानिन्छन् ।

थापा भन्छन्– पुरानै समाचार  
थापाले कांग्रेस प्रवेश गर्नेबारेको बहस अहिलेको नभई ६–८ महिनाअघि नै भएको जिकिर गरे ।  कांग्रेसमा विद्यमान अभ्यासमा एक मात्र सहमहामन्त्री छन् । तर, संशोधित विधानले क्लस्टरअनुसार आठ सहमहामन्त्रीको व्यवस्था गरेको छ ।

१४औँ महाधिवेशनबाट यसरी थपिएका पदाधिकारीको अभ्यास हुनेछ । संशोधित विधानले १४ पदाधिकारीको व्यवस्था गरेको छ । जसमा सभापति दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् ।

कोषाध्यक्ष पदमा सभापतिले केन्द्रीय सदस्यमध्येबाट मनोनीत गर्नेछन् । बाँकी पदाधिकारी सबै निर्वाचित हुनेछन् ।

तर, अर्काे पार्टीबाट आएकालाई अहिले पदाधिकारी तहमै ल्याउन सकिने देउवानिकट ती नेताले जानकारी दिए ।

‘कांग्रेस प्रवेशबारे चुनाव सकिएलगत्तै धेरै पहिले चर्चा चलेको विषय हो यो । त्यतिखेरसम्म राप्रपा एकीकरण नहुँदै कुरा हो,’ कांग्रेस प्रवेशबारे आफू पहिले संवादमा रहेको सन्देश दिँदै थापाले नयाँ पत्रिकासँग भने, ‘तर, तत्काललाई त्यस्तो कुनै तयारी छैन । यो समाचार पुरानो हो । म अहिले पनि राप्रपाको जिल्लाको समायोजनका लागि धनकुटातिर जाँदै छु ।’

एउटा पार्टीको नेता भएको हिसाबले कांग्रेस वा कम्युनिस्ट जुनसुकै दलसँग पनि संवाद हुनुलाई अन्यथा ठान्न नहुने उनको भनाइ छ ।

को हुन् थापा 
पञ्चायतकालदेखि प्रजातन्त्र प्राप्तिपछि पनि पटकपटक प्रधानमन्त्री भएका तत्काली राप्रपाका नेता सूर्यबहादुर थापाका पुत्र हुन्– सुनील थापा ।

थापा ०७० सालमा भएको संविधानसभा निर्वाचनमा धनकुटा– २ बाट निर्वाचित भएका थिए ।

थापा देउवा प्रधानमन्त्री हुँदा ०७४ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए ।

०७४ सालमा भएको निर्वाचनमा भने थापा धनकुटा– १ मा तत्कालीन एमालेका राजेन्द्रकुमार राईसँग पराजित हुन पुगे ।

थापाले राष्ट्रसंघका विभिन्न आयोगमा रही काम गरिसकेका छन् ।

२०११ मा शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोगअन्तर्गत सुडानमा कार्यरत रहँदा थापा राजीनामा गरी राप्रपाको राजनीतिमा प्रवेश गरेका थिए ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *