ओली–दाहाल छलफल अडान यथावत, बिहीबार माधव नेपालसहित छलफल हुने



ओली–दाहाल छलफल अडान यथावत, बिहीबार माधव नेपालसहित छलफल हुने

विवाद समाधानका लागि भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा करिब तीन घण्टा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेको थिएन ।

दुई अध्यक्षबीच लगातार वार्ता भए पनि कुनै प्रगति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपालसहित छलफल हुने भएको छ । दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको थियो ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् । स्रोतका अनुसार बुधबारको छलफलमा पनि ओलीले आफ्नो अडान दोहोर्‍याएका थिए । आफूले कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने बरु छिटो महाधिवेशन गरेर एकल अध्यक्ष हुन ओलीले दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहालले अहिले प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए ।

दुई अध्यक्षबीचको छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्न नसकेको बताए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

 

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *