जसपाले भन्यो – संशोधन प्रस्ताव फिर्ता नलिए सरिता गिरीमाथि कारबाही हुन्छ



जसपाले भन्यो – संशोधन प्रस्ताव फिर्ता नलिए सरिता गिरीमाथि कारबाही हुन्छ

काठमाडौं । राष्ट्रियताका विषयमा आफ्नै अभिव्यक्ति र कदमका कारण सांसद सरिता गिरीको पद धरापमा परेको छ । पार्टीले सांसद  गिरीलाई व्यक्तिगत रूपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि समाजवादी पार्टीले गिरीमाथि कारबाही गर्ने चेतावनी दिएको हो । गिरी समानुपातिक सांसद हुन्, पार्टीले चाहेको अवस्थामा उनलाई जुनसुकै वेला पनि फिर्ता बोलाउन सक्छ ।

नेकपा र कांग्रेसका युवा संगठनले भने– गिरीलाई कारबाही होस्

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रस्ताव फिर्ता लिन निर्देशन दिएको र फिर्ता नलिए कारबाही हुने बताएका छन् ।  संविधान संशोधनसम्बन्धी विषयमा पार्टीले समर्थन जनाए पनि गिरीले पार्टी नीतिविपरीत संविधान संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।
लिम्पियाधुरासहितको नक्सा समेटिएको निसान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने उनको प्रस्तावमा छ । गिरीले यस्तो प्रस्ताव दर्ता गराएपछि उनीमाथि कारबाही गर्न मागसमेत उठेको थियो ।

यसअघि, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ र प्रमुख प्रतिपक्षी दल कांग्रेसको युवा संगठन नेपाल तरुण दलले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी गिरीलाई कारबाहीको माग गरेका छन् ।
संघले गिरीलाई एकहप्ताभित्र आवश्यक कानुनी कारबाही अघि बढाउन आग्रह गरेको छ । कारबाही नगरे गम्भीरतापूर्वक लिने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं गिरी र सम्बन्धित दलले लिनुपर्ने चेतावनी संघले दिएको छ ।

तरुण दलले गिरीलाई कारबाहीको प्रक्रिया थाल्नुको सट्टा मौन बसेको भन्दै सरकारको पनि आलोचना गरेको छ । सांसद गिरीलाई अन्तर्राष्ट्रिय तत्वको संज्ञा दिँदै तरुण दलले कारबाहीको लागि माग गरेको छ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *