१३१औं ‘मे दिवस’ र श्रमिक आन्दोलनका चुनौती



१३१औं ‘मे दिवस’ र श्रमिक आन्दोलनका चुनौती

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) । याे बेला काेराेना भाइरस (काेभिड – १९)काे विश्वव्यापी महामारीबाट सबैभन्दा बढि विश्वकै मजदुरहरु चपेटामा छन् ।
आजकाे दिनलाई विश्वका श्रमजीवी/मजदुरको जितको इतिहासकाे दिन मानिन्छ । सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा मजदुरहरुले ठूलो विद्रोह गरेर आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको सुनिश्चितता गराए । त्यही ऐतिहासिक गाथालाई हामी १३१औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा यतिबेला सम्झिरहेका छौं । विश्वकै मजदुरहरुलाई गौरवशाली बनाउने त्यो शिकागो विद्रोहले विश्वका उत्पीडित मजदुर, किसान र शोषित पीडित वर्गलाई मूख्यतः राजनीतिक अधिकार प्राप्तिका लागि लड्न सधैं प्रेरित गरिरहन्छ । त्यही प्रेरणालाई उर्जाशील बनाइराख्न र गरिखाने वर्गको राज्य निर्माणका लागि निरन्तर संघर्षकै एक ऐतिहासिक कडीको रुपमा यतिबेला हामी पनि १३१औं मे दिवस मनाइरहेका छौं ।
मे दिवस विश्वव्यापी रुपमा जसरी मनाउने गरिएको छ, दुूःखको कुरा अधिकांश त त्यसमा भ्रष्टीकरण भइसकेको छ । पुँजीवादका सेवकहरु, मालिकहरु र साम्राज्यवादका प्रतिनिधिहरुले यो दिवसलाई भव्य, तामझामपूर्ण र पैसाको खोलो बगाएर मनाउने गरेका छन् । यद्यपि विश्व मजदुर आन्दोलनको मर्मलाई पक्रदै रक्षात्मक अवस्थामा रहेका समाजवादी शिविरका पार्टी र संगठनहरुले भने मे दिवसको इतिहास र गौरवलाई बचाउँदै आएका छन् ।
०१९ सालदेखि नेपालमा मनाउन थालिएको मे दिवसअघि नै नेपालमा ऐतिहासिक मजदुर आन्दोलनहरु भए, तर ती सफल आन्दोलन बन्न सकेनन् । त्यसको पछाडिका कारणहरु धेरै होलान्, तर नेपालमा जेजति संघर्ष र आन्दोलन भए, त्यसमा मजदुरवर्गको अहम् भूमिका थियो भन्ने कुरालाई लुकाइएको छ । नाममै मजदुुर आन्दोलन नभनिएपनि चाहे ००७ सालको राणा शासनविरुद्धको आन्दोलन होस्, या ०३६, ०४६ को आन्दोलन र ५२ सालको जनयुद्ध हुँदै ०६२/६३ को जनक्रान्ति किन नहोस् । यी सबै ऐतिहासिक संघर्षहरुका आधार स्तम्भ भनेकै मजदुरवर्ग हो ।
२००३ सालमा विराटनगर जुटमिलबाट सुरु भएको नेपाली मजदुर आन्दोलन श्रमिक वर्गको न्याय, समानता र स्वतन्त्रताको एउटा बिम्भ थियो । त्यो बिम्भलाई तत्कालीन मजदुर नेताहरुले आफ्नो राजनीतिक र सत्ता स्वार्थको मियो बनाइदिए । समयक्रमसँगै यसरी नेपालमै मात्र नभई, विश्वमै मजदुर आन्दोलनका अगुवाले गद्दारी गर्नु र मजदुर आन्दोलन नै कमजोर हुँदा पुँजीवाद कसिलो र बलियो भयो र मजदुरहरु जहिल्यै पुँजीवादका साधनभन्दा माथि उठ्न सकेनन् । त्यस्तै संयुक्त राष्ट्र संघको नाममा बनाइएका महासन्धी र पुँजीवादी देशहरुले बनाएका कानुनहरु समाजवादी आन्दोलनविरोधी त छदैछन्, अझ मजदुरविरोधी बढी छन् । ती महासन्धी एवं कानुनहरुले सिंगो मजदुर आन्दोलनलाई कमजोर बनाउँदै पुँजीवादको सेवा गरिरहेका छन् । विश्वमा रहेका कैयौं मजदुर संगठनहरुले तिनै महासन्धिहरुलाई रोडम्यापको रुपमा अंगालेर मजदुर आन्दोलनप्रति गद्दारी गरेका छन् । यो कुरा नेपालको सन्दर्भमा समेत लागु हुन्छ कि दक्षिणपन्थी र सुधारवादी कित्ताका मजदुर संगठनहरुले आइएनजिओले दिएको पैसा खाएर मजदुर आन्दोलनलाई कमजोर र विकृत पारेका छन् । तरपनि तिनीहरुले मजदुर आन्दोलनको हौवा पिट्न छाडेका छैनन् ।
वास्तवमा सामन्तवादपछि उदाएको पुँजीवादको दबदबा नै शिकागो मजदुर विद्रोह थियो, जसको नाममा ऐतिहासिक मजदुर आन्दोलनको स्मरण र नयाँ आन्दोलनको तयारीका रुपमा मे दिवस मनाउने परम्परा स्वयं मजदुरहरुले बसाले । दासताबाट मुक्त हुन, अन्तर्राष्ट्रिय मजदुर एकतालाई दह्रो बनाउँदै स्वाभिमानपूर्वक बाँच्न श्रमको उचित मूल्य प्राप्तिका लागि संघर्ष गर्ने जिम्मेवारीबोध गर्ने एउटा अवसरका रुपमा पनि मे दिवसलाई लिइन्छ । नेपालको सन्दर्भमा नाम मात्रको संसदीय गणतन्त्रको ठाउँमा जनताको वास्तविक जीवनमा प्रभाव पार्ने जनमुखी गणतन्त्रको स्थापनाका निम्ति मजदुरवर्गले संघर्ष गर्ने अभियानका रुपमा मे दिवसलाई लिनुपर्दछ । संसदवादी र सुधारवादीहरुले मे दिवसलाई आराम, मनोरञ्जन, विदा, अन्तरक्रिया र गोष्ठीको घेराभित्र मात्रै सीमित गर्ने प्रयत्न गर्दछन् तर परिवर्तनकारीहरुले विगतका मजदुरपक्षीय उपलब्धीहरुको रक्षा गर्दै भावी उपलब्धी प्राप्त गर्न संघर्षको लागि तयारी गर्ने दिवसका रुपमा मनाउने प्रयत्न गर्नुपर्दछ ।
१३१औं मे दिवस ‘मात्र श्रमिक वर्गका निम्ति’ किन नबनाउने ? यसको ऐतिहासिकता, सान्दर्भिकता र गौरवगाथाले यसै भन्छ । पुँजीवादको चरमोउत्कर्षका बेला भएको अमेरिकाको शिकागोको मजदुर–विद्रोहलाई पुँजीवाद चरमसंकटमा परेको बेला मे दिवस मनाइरहेका छौं । पुँजीवाद संकटमा पर्दै जाँदा उसले आपनो श्रमको अवधारणामा पनि काफी फेरबदल ल्याएको छ । विश्वमा बहुराष्ट्रिय कम्पनीहरुबाट अर्थतन्त्रमाथि एकाधिकार कायम गर्ने कार्य भएको छ भने साम्राज्यवाद र पुँजीवादले विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोष तथा एसियाली विकास बैंकजस्ता संयन्त्रबाट विश्व सम्पदा श्रोेतमाथि एकाधिकारको स्थिति सिर्जना गरेको छ ।
श्रमलाई शारीरिक श्रमका रुपमा परिभाषित गर्ने र शारीरिक श्रमलाई मात्र श्रमका रुपमा लिने शास्त्रीय मान्यता भत्किदैछ । र, विद्युतीय शक्ति र साइबर–प्रविधिको बढ्दो प्रयोगले शारीरिक श्रमलाई बौद्धिक श्रममा रुपान्तरण गर्दै लगेको स्थिति पनि छ । यसले स्वतः उत्पादन र ब्यापारमा पनि त्यही रुपमा फरक पार्ने हो । २१ औं शताब्दी सूचना क्रान्तिको शताब्दी भनेझैं बौद्धिकहरु बौद्धिक श्रमिकमा बदलिएका छन् । अर्थात् १९ र २० औं शताब्दीको श्रम, श्रमिक र पुँजीमा पनि परिवर्तन भइरहेको छ । यसर्थ रुपमा धेरै बदलाभाव आएपनि सारतः श्रमिकवर्गमाथि श्रम शोषण गर्ने पुँजीवादको नयाँ शैलीको अध्ययन र पहिचानसँगै श्रमिकवर्गको वास्तविक मुक्तिका लागि क्रान्तिकारी मजदुर आन्दोलनलाई राजनीतिक दृष्टिकोण र राज्यसत्ताको प्रश्नसँग जोडेर हाँक्नुपर्ने इमान्दार मजदुर आन्दोलनका अगुवासामु चुनौती थपिएको छ ।
अर्थवादी, वर्ग समन्वयवादी र राष्ट्रिय आत्मसमर्पणवादी ट्रेड यूनियनहरुले मजदुर आन्दोलनलाई पुँजीपति खासगरी दलाल पुँजीपति वर्गको पाउमा सुम्पिरहेका छन् । मजदुर वर्गीय हितलाई तिलाञ्जली दिदै मजदुर आन्दोलनमा भ्रम पैदा गरिदैछ । मजदुरवर्ग, राष्ट्र र परिवर्तनप्रतिको निष्ठालाई एकैसाथ अभिव्यक्त गर्न मजदुर आन्दोलनको परम्परागत शैलीलाई बदल्दै मजदुर आन्दोलनलाई दलाल पुँजीपति वर्गमा सुम्पिने र मजदुरवर्गीय हितका विरुद्ध लागेर मजदुर आन्दोलनमा भ्रम पैदा गर्नेका विरुद्ध निर्णायक संघर्षको नेतृत्व गर्नु दोश्रो कार्यभार हो । जो मजदुर वर्गप्रति समर्पित हुन्छ, त्यो मात्रै देशभक्त हुन्छ, जो मजदुर वर्गीय र देशभक्त हुन्छ, त्यो मात्रै परिवर्तनकारी/क्रान्तिकारी हुन्छ । मुखले क्रान्तिककारी भनेर मात्र अब मजदुरहरुले पत्याउनेवाला छैनन् । यो २१ औं शताब्दीमा मजदुर आन्दोलनका अगुवा दावी गर्ने सबैले बुझ्न जरुरी छ ।
अन्त्यमा, एकातिर पुँजीवादले आर्थिक, समाजिक र राजनीतिक रुपमा विश्वलाई नियन्त्रणमा लिन र त्यसलाई कायम राख्न हरसंभव कोशिस गरिरहेको र अर्कोतिर विश्वको श्रमजीवी वर्ग आधारित मजदूर आन्दोलन अहिले असाध्यै रक्षात्मक अवस्थामा रहेकाले यसलाई पूर्ण रुपमा उल्ट्याउन जरुरी छ । मजदुरहरुलाई केवल भोट बैंकको रुपमा प्रयोग गर्ने, पुँजीवादी संस्कारको नयाँ स्वाद लिन हतियार बनाउने र अन्ततः मजदुरको काँधमा चढेर नयाँ मालिक बन्ने ट्रेडयूनियनवादका विरुद्ध लड्ने प्रतिवद्धता पनि यसपटकको मे दिवसमा गर्न सक्नु पर्दछ । र, विश्वमा चलेको मजदूर आन्दोलनलाई केवल तत्कालको सेवा सुविधा वृद्धिको आन्दोलनमा मात्र केन्द्रीत नगरी समग्र मजदूर वर्गीय सत्ता प्राप्तिको आन्दोलनका रुपमा विकास गर्न सकियो भने मात्र १३१औं मे दिवस मनाउनुको सार्थकता झल्किनेछ ।
अन्तमा यति बेला विश्वभरि महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड १९) का कारण श्रमजीवी वर्गले यसलाई पर्व वा दिवसभन्दा पनि इतिहासमा श्रमजीवी वर्गले देखाएको त्याग, तपस्या, साहस र वीरताले भरिएका स्वर्णिम पलहरूको सम्झना र आगामी चुनौतीलाई सामना गर्न प्रेरित गर्ने दिनका रूपमा मनाउँदा यो दिवसको महत्व अझ बढी सार्थक हुन सक्छ ।
हामी सबै यतिखेर इतिहासको कठिन बाटोमा छौँ । आदर्श, मूल्य र मान्यताबाट विचलित नभई महान् लक्ष्यमा समर्पित हुन १३१ औँ मे दिवसले थप हौसला प्रदान गराेस्। आन्दोलनकाे गाथा गाएर मात्र हैन, साँच्चै गरेर मात्र विजयकाे शिखरमा पुग्न सकिन्छ भन्ने मर्मलाई हामी सबैले दह्राे मनले आत्मसाथ गरौँ । सम्पूर्ण श्रमजीवीहरूलाई यो ऐतिहासिक दिवसका अवसरमा असिम शुभकामना !

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *