धुनिया जाति : शिरक डसना बनाउने परम्परागत काम



धुनिया जाति : शिरक डसना बनाउने परम्परागत काम

काठमाडौंमा धनुहै र जिस्ताको ट्वार्रर्र ट्वार्रर्र आवाज बजाउँदै टोलटोलमा पुगेर शिरक र डसना बनाउनेहरुलाई त सबै काठमाडौंवासीले देखेकै हुन्छन् । तर ती शिरक बनाउने आउनेहरू कहाँबाट आएका हुन् र उनीहरूको मौलिक पेसाको बारेमा भने धेरैलाई ज्ञात नहुन सक्छ । अहिले कताकतै अन्य जातिले पनि यो काममा आफ्नो सहभागिता जनाउने गरेको भए पनि यो काम भने धुनिया जातिको मौलिक काम हो ।

लुम्बिनी प्रदेशको दक्षिणी भेगमा रहेको मर्चवारी गाउँपालिकामा बसोबास गर्ने धुनिया जातिको मुख्य परम्परागत काम भनेको नै कपासबाट शिरक डसना बनाउने हो । त्यसैले उनीहरुको परम्परागत मुख्य हतियार भनेको नै धनुहै र जिस्ता हो । धुनिया जातिको परम्परागत जातीय गतिविधिमा कपास सम्बन्धी कामका अलावा कृषि र कृषिसम्बन्धी मजदुरी पनि हो । गाउँपालिकाको वडा नं १, ६, ७ लगायतमा बसोबास गर्ने धुनिया जातिले अहिले पनि सोही पेसा अपनाउने गरेको ६ नं वडाका वडाध्यक्ष राम अचल कुर्मीले जानकारी दिए । कुर्मीका अनुसार उनीहरू अहिले पनि गाउँघरमा कृषि कर्म गर्ने र फुर्सदमा भारत गएर सिरक डसना बनाउने काम गर्छन् ।

सांस्कृतिक सामग्रीलाई नियाल्ने हो भने यो जातिको परम्परागत काम खेत जोत्ने, कोदालो खन्ने आदि रहेकोले हलो, कुटो कोदालो लगायतका सामग्री पनि परम्परागत जातीय सामग्री अन्तर्गत् पर्ने गर्छ । हिजो आज धेरैले ट्राक्टरको प्रयोग गर्न थालेका छन् । उनीहरु मौलिक खालको घरेलु भान्सा सामग्री प्रयोग गर्छन् । पकाउने भाँडा आफैँ बनाउँछन्, स्टीलको प्लेट, कचौरा र चम्चाको प्रयोग गर्ने गर्छन् ।

धनुहेल जन्तर नामक सामग्रीहरु हिजोआज पाउन छाडिसकिएको छ । यो फलामबाट बन्ने एक किसिमको उपकरण हो, जुन धुनिया जातिको परम्परागत उपकरण अन्तर्गत् पर्छ । यी उपकरणको तयारी लोहार जातिले गर्ने गर्थे । हिजोआज भैरहवा क्षेत्रमा कपासको कपडा बनाउने मेसिनको प्रयोग हुन थालेपछि र अन्य जातिका व्यक्ति समेत यसमा संलग्न हुन थालेपछि धुनियाँहरुको परम्परागत पेसामा संकट देखिन थालेको वडाध्यक्ष कुर्मी बताएँछ । उनीहरुको मौलिक धनुहै पनि हिजोआजको प्रविधिको विकाससँगै लोपोन्मुख अवस्थामा छ ।

धुनिया जातिको परम्परागत गहना

धुनियाँ जातिको मौलिकता केवल अन्य सामग्रीमा मात्रै सीमित छैन । गहना र पहिरनमा पनि उनीहरु विशेष छन् । महिलाले खिल नाको एउटा गहना लगाउने गर्थे । जुन नाकमा लगाउने गहना हो । हिजोआज उनीहरु कानमा नथियाँ र झुम्का लगाउने गर्छन् । हासुु भन्ने गहना पनि लगाउँछन् । जुन चाँदीबाट बनेको हुन्छ । त्यस्तै सुनको हार पनि लगाउने गर्छन् । जुन घाँटीमा लगाइन्छ । किलिप नामक गहना शिरमा लगाउने गर्छन् भने निधारमा टीका र औंलामा औंठी लगाउने उनीहरुको मौलिक परम्परा रहेको समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका लागि सन् २०१४ मा ओम गुरुङ र मानबहादुर खत्रीले गरेको अध्ययनले देखाएको छ।

केटा मान्छेले धार्मिक प्रतिबन्धका कारण सुनका गहनाहरु लगाउँदैनन् । तर उनीहरुमा चाँदीको गहना लगाउन भने कुनै प्रतिबन्ध छैन । केटा मान्छेहरुमध्ये पनि वयस्कहरुले लुंगी र सर्ट लगाउँछन् भने बच्चाहरुले सर्ट र ट्राउजर लगाउने गर्छन् । धेरै धार्मिक उद्देश्यको लागि केटा मान्छेले सेतो क्याप, पाइजामा र सेतो कुर्ता सुरुवाल लगाउने गर्छन् । विवाह उत्सवमा उनीहरु सेरवानी लगाउने गर्छन् । यो बुट्टेदार खालको हुन्छ ।

धनियाँको लागि सेतो कपडा विशेष खालको हुन्छ । उनीहरु सेतो रंगलाई सभ्यता, संस्कृति र विश्वासको प्रतीक मान्छ । महिलाहरु सामान्यतया साडी, कुर्था, सुरुवाल र चुँगी लगाउने गर्छन् । उनीहरु नकाव र बुर्काले अनुहार छोप्ने गर्छन् । विधवा महिलाहरुले भने सेतो बुर्का लगाउने गर्छन् ।

अभियान पोष्ट