दुई देशबीचकाेे सम्बन्ध नयाँ उचाईमा पुर्‍याउछाैं : चिनियाँ रक्षामन्त्री



दुई देशबीचकाेे सम्बन्ध नयाँ उचाईमा पुर्‍याउछाैं : चिनियाँ रक्षामन्त्री

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए। “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

गत वर्षको अक्टोबर महिनामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेयता चीनबाट नेपाल भ्रमण गर्ने उनी उच्च पाहुना हुन् । पछिल्लोपटक चिनियाँ रक्षामन्त्रीले सन् २०१७ मा नेपालको भ्रमण गरेका थिए । त्यसपछि नेपालको तर्फबाट दुईपटक रक्षामन्त्री र सेनापतिले छुट्टाछुट्टै चीनको भ्रमण गरेका थिए । यस हिसावले चिनियाँ रक्षामन्त्रीको भ्रमण नियमित हो ।

चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षता चिनफिङ आफैंले गर्ने हुँदा राष्ट्रपति र रक्षामन्त्रीको एकदमै निकटको सम्बन्ध हुन्छ । त्यसमाथि पनि उनी चिनियाँ राष्ट्रपतिको कोर टिम भित्रका व्यक्ति हुन् । त्यसैले यतिबेला उनको भ्रमण हुनुले निकै महत्व राख्छ तर यस विषयमा केही जानकारी दिइएको छैन ।

विशेषत अफिसियल भ्रमणमा बढी औपचारिक कार्यक्रमहरु हुने गर्दछन् तर वर्किङ भ्रमणमा भने औपचारिक कार्यक्रमहरु कम र अनौपचारिक बढी हुन्छ । चिनियाँ रक्षामन्त्रीको पनि औपचारिक भन्दा अनौपचारिक भेटघाट र कार्यक्रम रहेको छ ।

 

अभियान पोष्ट