रूसी विपक्षी नेता कोमामा,चियामा विष घोलेर खुवाइएको आशंका

रुस सरकारका कडा आलोचक तथा विपक्षी नेत एलेक्सी नाभाल्नी बेहोस भएपछि बिहीबार अस्पताल भर्ना गरिएको छ । शंकास्पद रूपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
सन् २०११ मा नाभाल्नीले गठन गरेको भ्रष्टाचारविरुद्धको संयन्त्रका सञ्चार सचिव किरा यार्मयशका अनुसार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेलादेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
‘नाभाल्नीले उडानकै बेलामा अप्ठ्यारो महसुस गर्नुभएको थियो । ओम्स्कमा विमान आकस्मिक अवतरण गरेलगत्तै उहाँलाई अस्पताल पुर्याइएको हो,’ यार्मयसले भनिन् । सञ्जाल ट्वीटरमा उनले ‘नाभाल्नीलाई विषाक्त खानेकुराका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको’ उल्लेख गरेकी छन् ।
यार्मयसले नाभाल्नीले पिएको चियामा केही विषाक्त पदार्थ घोलिएको हुन सक्ने शंका व्यक्त गरिन् । रुसी सञ्चारमाध्यमका अनुसार नाभाल्नीको स्वास्थ्य अवस्था गम्भीर छ र उनको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
एजेन्सी