लोकतन्त्र र निरंकुशता कोरोनाको युगमा



लोकतन्त्र र निरंकुशता कोरोनाको युगमा

‘अहिले अमेरिकी नेतृत्वको संकेत पनि देखिएको छैन । पहिलोपटक यस्तो देखिँदै छ,’ स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल विल्डले केहीअघि भनेका थिए । विल्डको बुझाइ सही देखिन्छ । विश्वले अमेरिकी नेतृत्व गुमाइसकेको छ । कोरोना भाइरस संकटको सबैभन्दा बेपत्ता कोही भएको छ भने ऊ अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ हो ।

अमेरिकी नेतृत्व दृश्यबाट हटेपछिको बनेको रिक्त स्थान भर्न कोही आएको छैन । चिनियाँ अधिकारी जति नै झन्डा हल्लाउँदै जहाजकाजहाज मास्क तथा भेन्टिलेटर युरोपेली भूमिमा झारून्, तर पनि प्रकोपको सुरुमा वुहानमा तिनले गरेको कुव्यवस्थापनलाई ढाकछोप गर्न सकिँदैन । यो प्रकोपबाट बाहिर निस्कने सुरुवाती मुलुकमध्ये मध्यम आकारका लोकतान्त्रिक मुलुक दक्षिण कोरिया र ताइवान छन् ।

२१औँ शताब्दीको निरंकुशतन्त्र तथा लोकतान्त्रिकबीचको बृहत् प्रतिस्पर्धा अझै जारी छ । सन् १९२९ मा सुरु भएको महामन्दीले आन्द्र महासागरका दुई किनारमा दुई भिन्न परिणाम निम्त्यायो । अमेरिकामा महामन्दीले सन् १९३३ बाट रुजवेल्टको न्यु डिल सुरु गरायो । सोही वर्ष युरोपमा हिटलर र फासीवादको उदय भयो, जसले ठूलो विध्वंस गरायो ।

अमेरिकी प्रभुत्वको अन्त्यपछिको पहिलो विश्व–संकटमा अमेरिकी प्रतिक्रिया कुरुप देखियो र प्रकोप बढ्दै जाँदा अमेरिकी सर्वोच्च नेता भने अन्योल बढाउन लागिपरेको देखिएका छन्।

यसपटक कोरोना भाइरसको कारणले विकास–निर्माण अवरुद्ध हुँदा २ करोड ६० लाख अमेरिकी बेरोजगार भइरहँदा, युरोपमा तलबको ‘राष्ट्रियकरण’(फ्रेन्च राष्ट्रपति इमानुयल म्याक्रोँको भाषामा) भयो । जर्मन पत्रिका डेर स्पिगेलले ‘बिरामी’को संज्ञा दिएको डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिका अधिनायकवादको झोकाका लागि तयार देखिन्छ । ट्रम्पको झुटहरूमा बगेर, अक्षमतामा पुरिएर, भाइरसको धक्का खाएर र एक स्वअविवेकीबाट शासित अमेरिका नोभेम्बरमा निर्वाचनमा जाँदै छ ।

अहिलेको परिस्थितिमा उक्त निर्वाचनको धाँधली वा स्थगनको सम्भावना बढेर गएको छ । ट्रम्पको मानसिकताको कुनै पनि पक्षले आगामी निर्वाचनमा उनको पराजय स्विकार्न सक्दैन । यस्तोमा संकट शक्ति हात पार्ने उत्कृष्ट बाहना हुनेछ । जेम्स म्याडिसनले चेतावनी दिएका थिए , युद्धले कार्यकारी निकायको महत्वलाई बढाउनेछ । यो महाव्याधिमा पनि धेरै युद्धका गुण भेटिन्छ ।

ट्रम्प जुन व्यक्तिगत तथा सामाजिक विध्वंसलाई उपयोग गर्न माहिर छन्, उनी त्यसैका साकार रूप पनि हुन् । स्वतन्त्र न्यायाधीशको अनादर गर्ने, शक्ति नियन्त्रणका विधि हटाउने, शक्ति सन्तुलनलाई अस्थिर बनाउने, सत्य निर्मूल पार्ने, व्यवस्थालाई एक–एक गरेर आफ्नो पकडमा पार्ने, यी सबैपछि आउने भनेको निरंकुशता नै हो ।

युरोपको कथा भने फरक छ । त्यहाँ महाव्याधिले समृद्ध उत्तर र विपन्न दक्षिणको विभाजनलाई झन् गहिरो बनाइरहेको छ । त्यस्तै पश्चिमी युरोपका लोकतन्त्र र पोल्यान्ड र हंगेरीको इलिबरल वा अधिनायकवादी प्रणालीबीचको भिन्नता थप उदांगिएको छ । महादेशले अहिले एकता र ऐक्यबद्धताको उसको क्षमताको गम्भीर परीक्षण सामना गरिरहेको छ । यसको प्रस्तुति उलेखनीय छैन, तथापि म यसलाई बेवास्ता गर्ने पक्षमा छैन ।

सुरुमा युरोपले महाव्याधिविरुद्ध कमजोर प्रतिक्रिया जनायो । पहिलो इपिसेन्टर लोम्बार्डीलाई जसरी व्यवस्था गरियो, त्यो छिटै बिर्सिन सकिँदैन । त्यसपछि मार्च ३० मा हंगेरीका नेता भिक्टर ओर्बनको झन्डै निरंकुश शक्ति प्रदर्शनप्रति युरोपेली संघले एकदमै कमजोर प्रतिक्रिया जनायो । संघको कदम ओर्बनलाई खुसी पार्न ल्याइएकोजस्तो देखिन्थ्यो । ओर्बनले जुन दिन अनिश्चित कालसम्म अध्यादेशमार्फत शासन गर्न सुरु गरे, त्यही दिन युरोपेली संघले हंगेरीलाई कोरोना रेस्पोन्स इन्भेस्टमेन्ट इनिसियटिभअन्तर्गत अर्बौं डलर सहयोग दिनु ‘पागलपनपूर्ण, खराब र खतरनाक’ थियो । ओर्बन ट्रम्पले प्रशंसा गर्ने राजनीतिज्ञ हुन् ।

उता जर्मन चान्सलर एन्गेला मर्केलमा युरोपले पुनः एक स्पष्ट, समझदार तथा स्थिर नेता भेटेको छ । आवश्यकताको समयमा महिला नेतृले पुनः आफूलाई प्रमाणित गरेकी छिन् । युरोपियन समाजले तिनको कल्याणकारी राज्यमार्फत कामबाट निकालिएका श्रमिकको ज्याला तिरिरहेको छ । साथमा ती देशमा सबैको स्वास्थ्य सेवामाथि पहुँच रहेकाले ती यो स्तरको वित्दका लागि अमेरिकाभन्दा बढी तयार छन् । अहिले सदस्य देश र युरोपेली केन्द्रित बैंकले विशाल स्रोत परिचालन गरेका छन् ।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा फेन्च राष्ट्रपतिले कोरोना भाइरसले बहुपक्षीय नीतिहरूलाई पुनः केन्द्रमा ल्याएको तर्क गरेका थिए । त्यस्तै उनले महाव्याधिले ‘अर्थतन्त्र’भन्दा अगाडि ‘मानिस’लाई राखेको पनि बताए । उनको भनाइबाट नयाँ परिस्थितिमा अमेरिकाको अनियन्त्रित पुँजीवादलाई युरोपेली ऐक्यबद्धताले जितेको भन्ने अर्थ निकाल्न सकिन्छ । महाव्याधिको समयमा फोहोर संकलन गर्ने, कृषक, मालवाहक ढुवानीकर्ता, किराना पसले सबैभन्दा काम लाग्ने वर्गका रूपमा देखिएका छन् । सबैभन्दा न्यून बेतनमा काम गर्ने यो वर्गले मानिसलाई जीवित हुन अत्यावश्यक सेवा पु-याइरहेको समयमा धनाढ्य भने कतै पहाड वा समुद्र किनार लागेको खबर आइरहेको छ ।

यसले भावी दिनमा थप समानता र फरक खालको ग्लोबलाइजेसनको आवश्यकता रहेको सन्देश दिएको छ । अहिले मानिसहरू कोभिड–१९बाट निसासिएका छन् । म्याक्राेँले औँल्याएजस्तै एक दिन ती पृथ्वीमा बढेको तापक्रमबाट निस्सासिन सक्छन् । पाठ क्रान्तिकारी पुनः सन्तुलनबाट सिकिन्छ या सिकिँदैन भन्ने अर्को कथा हो । तथापि अहिलेलाई युरोपेली संघ उदार लोकतान्त्रिक मूल्यको रक्षामा उभिएन भने ती ट्रम्प, पुटिन र सि जिनपिङको भयानक विश्वमा अनाथ हुनेछन् ।

२१औँ शताब्दीको लोकतन्त्र–निरंकुशतावादबीचको संघर्ष अन्त्य भइसकेको छैन । आपतकालीन समयले निरंकुश शासकलाई सघाउन सक्छ । तर, त्यो समय तिनको कमजोर देखिने र परिवर्तनकारी सोच ब्युँतिने समय पनि हो । यसैले नोभेम्बर ३ महत्वपूर्ण मिति हो । यदि उक्त दिन निर्वाचन भयो र ट्रम्पले जिते भने उनको सत्यमाथिको प्रहार जारी रहनेछ ।

 

 साभार :The New York Times

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *