कोरोनाको महामारी र भिक्षु: जीवन !



कोरोनाको  महामारी र भिक्षु: जीवन !

भिक्षु आनन्द ।

म फेसबुक  मार्फत आफुले जानेका बुझेका ज्ञान, सिक्षा, आदर्शका कुराहरु पोस्ट गर्दै आइरहेको छु।   फेसबुक अहिले संसारभरी मानिसलाई जीवनको अभिन्न सामाजिक संजाल भैसकेको छ। आज  कोरोना महामारीको कारण सबै घरभित्र थुनिएर बस्नु पर्दा दिन बिताउन र टाइम पास गर्न फेसबुक सबैभन्दा सजिलो उपाय नै बनेको छ छ।  यो विश्वभरिका घटना-परिघटना जान्ने र बुझें मात्र नभई ब्यक्ति, समूह, संघ -संस्था, पार्टी सबैले फेसबुकबाट आ-आफ्नो विचार, समस्या, पीडा-व्यथा पोख्ने र संवाद गर्ने उपयुक्त मंचको रुपमा प्रयोग गर्दै आइरहेका छन्।

धेरैले फेसबुक आफ्नो दुख -पीडा पोख्ने, अन्याय, अत्याचार, वकालत गर्ने मंचको रुपमा प्रयोग गर्दै आएका छन्।  तर म धेरै जस्तो आफ्नै समस्या भित्रि-पीडा र व्यथा भन्दा आदर्शका कुराहरु फेसबुकमा पोस्ट गर्दै आइरहेको छु।  मेरो पोष्टहरु हेरेर धेरैले लाइक र कमेन्ट पनि गर्छन। ति पोष्टहरु हेर्दा सायद धेरैलाई लाग्न  सक्छ मेरो जीवन विन्दास  छ, कुनै दु:ख-समस्या नै छैन। एक्लो भिक्षु-जीवन पीडामुक्त आरामदायी नै होला, तर एक्लो भिक्षु जीवन विताउनामा आफ्नै  दु:ख-पीडा, समस्या हुने गरेको धेरैले नसोचेको पाटो हुन सक्छ।  पहिलो त आफ्ना आवस्यकताहरु सबै आफैले पुरा गर्नुपर्ने।  खान-पान, औषधी-उपचार, सर-सफाई दिनहुँ आफैले गर्नु पर्दा एकांगी जीबन अत्यन्त कस्टकर कस्टकर नै हुँदो रहेछ। यस बीच झन् कोरोनाको महामारीले समस्या थपिदिएको छ।

समाज, घर-परिवारबाट अलग भएर एक्लो भिक्षु जीबन बिताउनु पनि कोरोनाको महामारीले थप पीडा र व्यथा थपिदिएको छ।  महिनौ कोठामै थन्किनु पर्दा उकुस-मुकुस हुने मात्र होइन दिनदिनैको खान-पान जोहो गर्न समेत कठिनाइ भोग्नु परिरहेको छ। गृहस्थीहरु जस्तो कहीं कतै गएर लाइन बसेर राहत लिन पनि नमिल्ने आफ्नो चिवर वस्त्र,अप्ठेरो…! गृहस्थीहरुले झैँ जताततै  किनमेल गर्न पनि नमिल्ने..! भिक्षु-जीवनको मर्यादाको टड्कारो अगाडी आउने…! कहिलेकाँही तथागत बुद्धको “जिघक्छा परमा रोगा” अर्थात “भोक नै परम रोग हो” भन्ने उक्ति अत्यन्त गहकिलो र सान्दर्भिक लाग्यो…

हुनत फेसबुकमा मैले केहि पोष्ट गर्दा मेरो पोष्टहरुमा लाइक र कमेन्ट लहरै राख्नेहरु, मेरो वालमा आफ्नो फोटोहरु ट्याग  गर्न रुचाउनेहरु, आफ्नो पेज लाइक गर्न निम्तो पठाउनेहरु, मेरो साथीहरु साथी बनाउन मन पराउनेहरु धेरै छन्।   मलाई दिनदिनै म्यासेन्जरमा नाना थरिका कोरोना सम्बन्धि फोटो, आदर्श-पाठ, अडियो, भिडियोहरु पोष्ट गर्न रुचाउनेहरु धेरै छन्।  एकदुई जना बाहेक कसैले अहिले सम्म केहि सहयोग गर्नु पर्छ कि भनेर सोधेको छैन। सहयोग गर्न इच्छुक एक-दुई जना पनि धेरै टाढा बस्ने।  कोही आफ्नो कामको लागि मात्र फोन गर्नेहरु छन्। उनीहरुलाई मेरो समस्या बताउँदा कुरै- कुराले मात्र तारिदिने उल्टो आफ्नो समस्या लहरै भन्ने गरेको पाइयो।

कोहि कोहि  भान्नुहुन्छ तपाईंको फेसबुक त्यतिको साथीहरु छन् उनीहरुले तपाइको बारे सोधनी हुन्दैन? उनीहरु के सहयोग गर्न इच्छुक छैन ? तर मैले हालसम्म कसैलाई प्रत्यक्ष मेरो समस्या भन्ने गरेको छैन।  यो मेरो मर्यादा विपरित जस्तो लाग्छ। हुन त मेरो फेसबुकमा हजारौ साथीहरु नभएको होइन तर के गर्ने सबैलाई भन्न पनि नमिल्ने। आफुलाई समस्या पर्यो भन्दैमा सबैलाई भन्ने कुरो पनि होइन।  तर अरुबेला आफ्नो कामको लागि सम्पर्क गर्न इच्छुक, अत्यन्त नजिक, आत्मिय, हितेशी जस्तो व्यवहार गर्नेहरुले सहयोग जुटाउनु भन्दा एकचोटी पनि सोधपुछ नहुँदा मन खिन्न हुन्छ।  मैले “अवसरवादी” भन्ने शब्द धेरैपटक सुन्ने गरेको छु। सायद आफ्नो स्वार्थको लागी मात्र सम्पर्क राख्न रुचाउनेहरु लाइनै यो शब्द प्रयोग गरेको होला।  तर कहिले पनि नसोचेकाहरु जो उति सारो मेरो सम्पर्कमा आउँदैन र हुन्दैन उनीहरुले फोन गरेर सुख-दु:ख र सहयोग गरेको पाउँदा आफैलाई आश्चर्य र भाग्यमानी ठान्छु।  र यहि प्रसंगमा एउटा भनाइ याद आउंछ “Hardest time identifies the heartiest person” अर्थात् “कठिन-परिस्थितिले हृदयंगम-व्यक्ति चिन्छ”

हे कोरोना..! संसार-भय तरण गर्ने हेतुले १३ वर्ष कलिलो उमेरमा आमा-बुबा, घर-परिवार, नाता-कुटुम्ब, इस्ट-मित्र त्याग गरेर प्रवजित-जीवन। भिक्षु जीवन अपनाएँ।  तर संसारिक दु:ख र भय तर्नु अघि आफ्नो भोक र प्यास मेटाउनु पर्ने बाध्यता रहेछ।  बिना आहार-पान चित्त-एकाग्रता गरि ध्यान-साधना पनि गर्न नसक्ने रहेछ..! जब शरीर  नै कमजोर र दुर्बल हुन्छ तब दिल-दिमागले पनि काम नगर्ने रहेछ..! ध्यान-समाधि त परको कुरा भयो..! अद्यात्मिक- सुख प्राप्ति भन्दा पहिले कायिक दुख र पीडा निवारण गर्नु पर्ने रहेछ।  त्यसैले होला सिद्धार्थ वोधिसत्वले छ वर्षसम्म कठिन दुस्कर-चर्या (तपस्या) गर्दा पनि सरिरमा हाड़ र छाला मात्र बाँकी रह्यो, संसार-दु:ख-मुक्त बुद्धत्व-ज्ञान प्राप्त गर्न सकेन।  आखिर सुजाताको खिर-भोजन सेवन गरेपछि मात्र सिद्धार्थको सुकेको शरीरमा बल्ल उर्जा र बल आयो।  अनि मात्र वोधि-वृक्षमुनी चित्त-एकाग्रता भयो।  सम्पूर्ण आश्रव-क्लेश छ्यय भै, जन्म-मरणको चक्रबाट मुक्त भयो ..र. संसारिक- दुखको राप-र तापबाट सदकालिक मुक्त -निर्वाण प्राप्त भयो।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *