काठमाडौं उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिइरहेको छ !



काठमाडौं उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै फैलिइरहेको छ !

काठमाडौं । घटना १ : बिहीबार धुलिखेल अस्पतालमा ज्यान गुमाएकी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले शनिबार साँझ घोषणा गर्‍यो । उनी ९ दिनकी सुत्केरी थिइन् । कोभिड–१९ का कारण नेपालमा भएको यो पहिलो मृत्यु समेत हो ।

तीन महिनाअघिसम्म बालाजुमा तरकारी पसल चलाउने उनी पछिल्लो समय व्यवसाय छाडेर टोखामा बस्दै आएकी थिइन् । २३ वैशाखमा व्यथाले च्यापेपछि आफन्तले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगे र वैशाख २४ गते छोरा जन्मियो । २५ गते डिस्चार्ज दिएपछि उनलाई सिन्धुपाल्चोक लगियो ।

गाउँ लगेको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई बाह्रबिसे प्राथमिक उपचार केन्द्रमा लगियो । त्यहाँबाट स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरे । तर, छोराको न्वारान गरेर मात्र जाने भन्दै उनीहरू घर फर्किए ।

त्यहीबेला शिक्षण अस्पतालमा उपचाररत बालिकामा कोरोना संक्रमण भएको खबर सार्वजनिक भएपछि स्थानीय जनप्रतिनिधिले सोधीखोजी गरेर उनीहरूलाई तत्काल अस्पताल लैजान सुझाए । परिवारले एम्बुलेन्स खोजेर बिहीबार साँझ ९ः३० बजे धुलिखेल अस्पताल ल्याए । तर, त्यसको आधा घण्टामा नै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।

परीक्षणका क्रममा उनलाई कोरोना भाइरस कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । हुन त कन्ट्याक ट्रेसिङको क्रम चलिरहेकाले उनमा देखिएको संक्रमणको स्रोत बताइएको छैन ।

शिक्षण अस्पतालमा उपचाररत संक्रमितबाट ती सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण हुने सम्भावना नभएको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् ।

प्रसुति वार्ड र बालिका उपचाररत न्युरो सर्जरी वार्ड फरक ठाउँमा भएकाले सम्भावना नभएको उनको दावी छ ।  ‘यो ठाउँबाट संकलन गरिएको नमुनाको परीक्षण रिपोर्ट नआइकन अहिले केही भन्न सकिदैन’ डा. दासले थपे ।

****

घटना २ : शुक्रबार काठमाडौं महामानगरपालिकाले सफाइ क्षेत्रमा काम गर्ने ६ सय ६४ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ आयो । त्यसलगत्तै पीसीआर जाँच गर्नका लागि स्वाब संकलन गरियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

तर, आरडीटीमा पोजेटिभ नतिजा देखिनुको अर्थ हुन्छ, उनीहरू कुनै बेला संक्रमित थिए ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उसको शरीरमा कुनै न कुनै समय कोरोना भाइरसको सक्रिय थियो  र अहिले निको भइसकेको वा हुने क्रममा छ भन्ने हो । जतिबेला शरीरमा भाइरस सक्रिय थियो, त्यसबेला अरूलाई सर्न पनि सक्छ ।

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित भन्छन्, ‘कुनै पनि व्यक्तिको आरडीटी पोजेटिभ आउनु भनेको उनीहरू कुनै समय संक्रमित थिए भन्ने हो ।’

एकसाथ ३१ जनाको आरडीटी पोजेटिभ आउनुले पनि उपत्यकामा कोरोना संक्रमण छ तर संक्रमितहरू परीक्षणको दायरामा नआएका मात्र हुन् भन्ने प्रष्ट भएको उनले बताए ।

माथिका दुवै घटनाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण फैलिएको छ भन्ने देखाएको डा. दीक्षितको तर्कमा अरू जनस्वास्थ्य विज्ञहरू पनि सहमत छन् ।

‘कहिलेकाहीँ फल्स पोजेटिभ आउन सक्छ । किनकी आरडीटीमा शतप्रतिशत सही रिजल्ट आउँछ भन्ने हुन्न । तर, साढे ६ सय टेस्ट गर्दा ३१ पोजेटिभ आउनु भनेको फल्स पोजेटिभ हुन सक्दैन’ जनस्वास्थ्य विज्ञ डा. विश्वनाथ कोइरालाले आफ्नो निष्कर्ष सुनाए, ‘लकडाउन भनेपछि मानिसहरूको आवतजावत रोकिएको छैन । कोरोना संक्रमण फैलिएको ठाउँबाट पनि मानिसहरू आएका छन् । त्यसैले काठमाडौं उपत्यकामा संक्रमण फैलिएको छ ।’

एन्टिबडीले दिएको संकेत

जनस्वास्थ्य विज्ञहरूका अनुसार जब मानिसको शरीरमा कोभिड–१९ को भाइरस प्रवेश गर्छ । तब शरीरमा त्यो भाइरस प्रतिरोधी क्षमता पनि विकास हुन थाल्छ । भाइरस मार्न शरीरले एक प्रकारको प्रोटिन विकास गर्छ, जसलाई एन्टिबडी भनिन्छ । यस्तो एन्टिबडी दुई किसिमको हुन्छ, आईजीजी र आईजीएम ।

ओम्नी समूहसँग भएको विवादास्पद सम्झौताअनुसार ल्याइएको आरडीटी किटले मानिसको शरीरमा बनेको भाइरस प्रतिरोधी एन्टिबडी देखाउँथ्यो । तर, आईजीजी र आईजीएम छुट्याउँदैनथ्यो । त्यसको विश्वसनीयतामा पनि प्रश्न उठेको थियो ।

अहिले सरकारले नयाँ आरडीटी किट ल्याएको छ, जसले आईजीजी र आईजीएम दुवै देखाउँछ ।

काठमाडौं महानगरको सरसफाइ क्षेत्रमा काम गर्ने कर्मचारीहरूको परीक्षणमा संलग्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक चिकित्सकका अनुसार आरडीटी पोजेटिभ आएका ३१ जनामध्ये १ जनाको आईजीजी एन्टिबडी देखिएको थियो भने ३० जनाको आईजीएम एन्टिबडी देखिएको थियो ।

यस्तै, कालीमाटी तरकारी बजारमा देखिएको आरडीटी पोजेटिभमध्ये २ जनाको आईजीजी एन्टिबडी देखिएको थियो भने एक जनाको आईजीएम पाइएको छ ।

जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार कोभिड–१९ को भाइरस शरीरमा प्रवेश गरेको पहिलो सातादेखि आईजीएम एन्टिबडी बन्न थाल्छ । शरीरमा भाइरस पसेको ९/१० दिन भएको छ र त्यसै अवधिमा आरडीटी परीक्षण गरियो भने संक्रमण हुँदाहुँदै पनि नेगेटिभ रिपोर्ट आउँछ । किनकी, यो किटले भाइरस प्रवेश गरेको नौ दिनपछि मात्र रिपोर्ट पोजेटिभ देखाउँछ ।

यस्तै, आईजीजी एन्टिबडी शरीरमा भाइरस प्रवेश गरेको करिब १५/२० दिनपछि मात्र बन्छ । त्यसअघि व्यक्ति संक्रमित भए पनि आरडीटी किटले नेगेटिभ नै रिपोर्ट निकाल्छ । त्यसैले र्‍यापिड टेस्ट विधिबाट दुईमध्ये एक वा दुवै प्रकारका एन्टिबडी भए–नभएको पहिचान गरेर कोभिड–१९ संक्रमित भए–नभएको पहिचान गर्ने पीसीआर गर्नुपर्ने जीवाणु वैज्ञानिक डाक्टर खड्का बताउँछन् ।

त्यसैले ३१ मध्ये ३० जनाको एन्टिबडी आईजीएम देखिनु भनेको उनीहरूको शरीरमा भर्खरै भाइरस प्रवेश गरेको हुन सक्छ । अर्थात् उनीहरू सम्भावित संक्रमित हुन् । अब केही दिनमा पीसीआर विधिबाट जाँच गर्दा पोजेटिभ देखिने सम्भावना हुन्छ ।

संक्रमणको स्रोत के हो ?

कन्ट्याक ट्रेसिङ गर्ने जिम्मा पाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक वासुदेव पाण्डे अहिले केही भन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘आरडीटी पोजेटिभ आएका सफाइ कर्मचारीहरूलाई कहिले कहाँ र कसरी संक्रमण भएको भन्ने पत्ता लगाउन मुस्किल हुन्छ’ पाण्डेले अनलाइनखबरसँग भने, ‘सुत्केरी महिलाको भने कन्ट्याक ट्रेसिङ गर्दैछौं ।’

उनका अनुसार नेपाल प्रहरी, प्रदेश सेवा निर्देशानलय, स्थानीय सरकार मिलेर मुत्यु हुनुअघि सुत्केरी गराएको शिक्षण अस्पताल, उनको कोठा भएको स्थान टोखा र उनलाई लागिएको घर बाह्रबिसे क्षेत्रमा कन्ट्याक ट्रेसिङ गर्दै स्वाब कलेक्सन गर्ने काम भइरहेको छ ।

शिक्षण अस्पताल स्रोतका अनुसार स्त्री विभागमा कार्यरत रहेका सबैको नमुना परीक्षण गर्ने काम भइरहेको छ । आइतबार र सोमबार गरी एक सय ५० जनाको स्वाब संकलन गर्ने योजना छ ।

यस्तै, बाह्रबिसेमा पनि स्वाब संकलन भइरहेको छ । तीनै ठाउँमा संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र संक्रमणको स्रोत भन्न सकिने पाण्डे बताउँछन् ।

तर, काठमाडौं उपत्यकामा भेटिएका संक्रमितहरूसँगै दुवै घटनाले काठमाडौंमा कोरोना छैन भन्ने दाबीलाई खण्डन गरेको छ । ‘अब काठमाडौंमा कोरोना छैन भन्ने उपयुक्त आधार देखिन्न’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘आरडीटी पोजेटिभ देखिएकाबाट पनि अरूलाई सर्ने सम्भावना हुन्छ । उनीहरूको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्नुपर्छ ।’

तर, आरडीटी पोजेटिभ आएपछि सफाइ कर्मचारीलाई न क्वारेन्टाइनमा राखिएको छ, न उनीहरूको कन्ट्याक ट्रेसिङ नै गरिएको छ । बरु उनीहरूमा कोरोना संक्रमण देखिएन भनेर स्वयं महानगरपालिकाले खुसी मनाएको छ ।

उनीहरूबाट संक्रमण सर्ने डर हुँदाहुँदै किन यसो गरियो त ? ‘आरडीटी पोजेटिभ आउने सबैको कन्ट्याक ट्रेसिङ गर्न सम्भव छैन’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर पाण्डे भन्छन्, ‘आरडीटी पोजेटिभपछि पीसीआर जाँच गर्दा पनि पोजेटिभ आयो भने मात्र कन्ट्याक ट्रेसिङ गरिन्छ ।’

भाइरोलोजिस्ट समेत रहेका डाक्टर पाण्डेका अनुसार आरडीटी पोजेटिभ आएर पीसीआरमा नेगेटिभ आउनु भनेको मानिसको शरीरमा भाइरस निष्कृय हुनु हो । यस्तो अवस्थामा उसले अरूलाई संक्रमण गराउन सक्दैन । त्यसैले पीसीआरमा पोजेटिभ नआएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नु समय खेर फाल्नु हो ।

तर, र्‍यापिड टेस्टमा आईजीएम एन्टिबडी देखिएकाहरूको केही दिनपछि पीसीआर विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिनसक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । यसबारे डाक्टर पाण्डे पनि जानकार छन् ।

आईजीएम एन्टिबडी देखिएकाहरूको पीसीआर किन नेगेटिभ देखियो भन्ने विषय अध्ययनको विषय रहेको उनको कथन छ । उनी भन्छन्, ‘यति धेरै आरडीटी पोजेटिभ आउँदा (आईजीएम) केही केस पीसीआरमा पनि पोजेटिभ आउनुपर्ने हो । किन सबै नेगेटिभ आयो भनेर किटको अध्ययन गर्नुपर्ने देखिएको छ ।’

सभार: onlinekhabar.com

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *