किन शिथिल बन्दै छ विश्‍व अर्थतन्त्र ? नेपालबारे यस्तो गरिँदै अध्ययन



किन शिथिल बन्दै छ विश्‍व अर्थतन्त्र ? नेपालबारे यस्तो गरिँदै अध्ययन

काठमाडौँ — चीनसहित विकासोन्मुख एसियाली मुलुकको अर्थतन्त्रमा १५ अर्ब डलर क्षति हुनेछ, यो दुई महिनाको अवधिमा हुने प्रभावका कारण मात्र हो । तीन महिनासम्म यसको प्रभाव रहिरहे विश्व अर्थतन्त्रमा डेढ खर्ब बराबरको क्षति हुने एडीबीको अनुमान छ ।

सन् २०१९ मा चीनले विश्व बजारबाट २१ खर्ब डलर बराबरका सामग्री आयात गरेको थियो । स्टार बक्सको कफीदेखि फ्राइड चिकेनजस्ता उत्पादनका लागि चीन ठूलो बजार हो । चीनमा हुने बिक्रीले धेरै बहुराष्ट्रिय कम्पनीको आम्दानी र नाफामा ठूलो अर्थ राख्छ । र, यस्ता कम्पनीको वृद्धिले रोजगारी र लगानीमा ।

कोरोना त्रासका कारण चिनियाँ नागरिक घुमघामका लागि ननिस्कनु भनेको माल्दिभ्सका रिसोर्टदेखि पेरिसका बुटिक होटलसम्म खाली रहनु हो । चिनियाँ पर्यटकको संख्याले पर्यटनमा निर्भर धेरै देशको अर्थतन्त्र सबल बनाउन भूमिका खेलेको छ । विश्वभरका ब्रान्डका लागि चीन उत्पादन थलो पनि हो । चिनियाँ उद्योग बन्द रहनु भनेको एप्पलको आइफोनदेखि निर्माण सामग्री जस्ता वस्तु र औद्योगिक कच्चापदार्थकै अभाव हुनु हो । चिनियाँ नयाँ वर्षदेखि सुरु भएको कोरोना (कोभिड–१९) को प्रभावले चीनमा हुने बिक्री र खपतको परिमाण घटाएका छन् । जसले आफ्नो उत्पादन चीनमा बिक्री गर्दै आय गर्ने दर्जनौं देशको अर्थतन्त्रलाई सोझो प्रभाव परेको छ । कोरोना त्रासका कारण चिनियाँ नागरिकले सामान किन्न कम गर्न थालेपछि विश्वका कारदेखि जुत्ताका ब्रान्डले समेत अर्बौं राजस्व गुमाउन थालेका छन् ।

कोभिड–१९ अब संसारका प्राय: देशमा फैलिइसकेको र केही देश फैलन सक्ने उच्च जोखिममा परेपछि चिनियाँ बजार मात्रै होइन, अब ती देशकै अर्थतन्त्र पनि शिथिल बन्ने निश्चितप्राय: छ । चीनले विश्व व्यापारको झन्डै २० प्रतिशत हिस्सा ओगट्छ । भाइरस फैलिइसकेको र फैलन सक्ने सम्भावित कारणले दुई महिनायता हवाई, उद्योग, उत्पादन, निर्माणजस्ता अर्थतन्त्रमा योगदान दिने अधिकांश क्रियाकलाप शिथिल बन्न थालेका छन् । दुई महिनाकै कोरोना प्रभावले यो वर्षलाई सन् २००९ पछिकै सबैभन्दा शिथिल अर्थतन्त्र हुने वर्षका रूपमा हेर्न थालिएको छ । अमेरिकी आर्थिक संकटको २००८–००९ को अवधिले विश्वभरका अर्थतन्त्रलाई धक्का पुगे जस्तै कोरोनाका कारण सन् २०२० को विश्व अर्थतन्त्र वृद्धि नै आधा रोकिने धेरै अर्थविद्हरूको प्रक्षेपण छ ।

सामान्य भाषामा भन्दा कोरोनाको त्रासका कारण उद्योगहरू बन्द भए, मानिसहरूले होटलमा खान छाडे, घुम्न जान छाडे, हवाई उद्योगले यात्रु पाउन छाडे के हुन्छ ? यसले विश्वभरको आर्थिक कारोबारमा कमी ल्याउनेछ । यसले बैंकबाट ऋण लिएर गरिएका धेरै उद्योगलाई ब्याज र किस्तासमेत तिर्न नसक्ने अवस्थामा पुर्‍याउनेछ भने यस्ता उद्योगमा रोजगारी गरिरहेका करोडौं मानिसको रोजीरोटी खोसिनेछ । व्यवसायबाट हुने आम्दानीले बैंकको ब्याज र किस्ता तिर्न नसक्दा विश्वभरका बैंकहरू टाट पल्टिने अवस्था आउन सक्छ ।

चिनियाँ अर्थतन्त्रले उसलाई मात्रै नभएर अन्य देशलाई कसरी प्रभाव पारिरहेको छ भनेर बुझ्न अमेरिकी स्टक एक्सचेन्जमा आएको गिरावटलाई हेर्दा पनि हुन्छ । अमेरिकी स्टक एक्जचेन्जमा आएको गिरावट सन् २००८ को आर्थिक संकटपछिको खराब अवस्था हो । अमेरिकाको मात्रै होइन संसारका मुख्य स्टक मार्केटको अवस्था पनि उस्तै हुँदै गएको छ ।

कोरोनाको प्रभावले पछिल्लो दुई महिनामा अर्थतन्त्रमा देखिएको नकारात्मक सूचकांकलाई लिएर धेरै निकायले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा विश्लेषण सुरु गरेका छन् । अर्गनाइजेसन फर इकोनमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) ले गरेको विश्लेषणमा कोरोनाका कारण यो वर्ष विश्व अर्थतन्त्र २ दशमलव ४ प्रतिशत मात्रै वृद्धि हुनेछ । जुन गत नोभेम्बरमा गरिएको २ दशमलव ९ प्रतिशत वृद्धिको प्रक्षेपणभन्दा ० दशमलव ५ प्रतिशत विन्दु कम हो । यो कोरोना भाइरसको अहिलेको जस्तो अवस्थालाई दृष्टिगत गरी गरिएको प्रक्षेपण हो । तर योभन्दा खराब अवस्थामा विश्व अर्थतन्त्रको वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्रै हुन सक्ने ओईसीडीको आकलन छ ।

सन् २०२० को पहिलो त्रैमासमै कोरोना नियन्त्रणमा आए सन् २०२१ मा भने विश्व अर्थतन्त्रको वृद्धिदर ३ दशमलव ३ प्रतिशत हुने ओईसीडीको आकलन छ । ‘तर कोरोना भाइरसको प्रभाव यसैगरी एसिया, युरोप र उत्तर अमेरिकामा फैलिँदै गए अवस्था झन् खराब हुन सक्छ,’ ओईसीडीको विश्लेषणमा भनिएको छ ।

शुक्रबार मात्रै एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको एक अध्ययन रिपोर्टले पनि विश्व अर्थतन्त्रमा झन् भयावह अवस्था औंल्याएको छ । कोरोना भाइरसको प्रभावका कारण एसिया र विश्व अर्थतन्त्रमा पार्ने प्रभावको सरसर्ती विश्लेषण गर्दै एडीबीले विश्व अर्थतन्त्रमा ७६ अर्ब डलर क्षति हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

चीनसहित विकासोन्मुख एसियाली मुलुकको अर्थतन्त्रमा १५ अर्ब डलर क्षति हुनेछ । यो दुई महिनाको अवधिमा हुने प्रभावको कारण मात्र हो ।

तीन महिनासम्म यसको प्रभाव रहने हो भने विश्व अर्थतन्त्रमा डेढ खर्ब बराबरको क्षति हुने एडीबीको अनुमान छ । छ महिनासम्म रहिरहे यसले विश्व अर्थतन्त्रमा साढे तीन खर्ब डलर बराबरको क्षति गर्नेछ । फलस्वरूप आर्थिक वृद्धि ० दशमलव ४ प्रतिशत तल झर्नेछ ।

सन् २०१६ देखि २०१८ सम्म चीनलाई सामान निर्यात गर्ने मुलुकको सूचीको विश्लेषण गर्ने हो भने सात वटा मुलुकको अर्थतन्त्रको १० प्रतिशत हिस्सा चीनमा हुने निर्यातमा निर्भर रहेको एडीबीको रिपोर्टमा उल्लेख छ । कोरोना भाइरसको प्रभावका कारण चिनियाँहरूले सामान कम खपत गर्न थाल्ने हो भने यस्ता मुलुक सबैभन्दा पहिला प्रभावित हुने पक्का छ । मंगोलिया, ताइपेई, सोलोमन आइल्यान्ड, भियतनाम, सिंगापुर, कोरिया, मलेसिया, लाओस, म्यानमार, थाइल्यान्डजस्ता मुलुकको अर्थतन्त्र चीनमा गरिने निर्यातमा निर्भर छ । यसबाट दक्षिण दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका अछुता छैनन् । पर्यटनमा निर्भर अर्थतन्त्रका लागि पनि कोरोना भाइरसको अवस्था यही रूपमा फैलिइरहे विकराल रूप लिन सक्छ । एडीबीको विश्लेषणलाई आधार मान्ने हो भने अहिलेकै अवस्थामा नेपालको पर्यटन उद्योगले चिनियाँ पर्यटकबाट पाउने १ अर्ब आम्दानी गुमाइसकेको छ ।

छ महिनासम्म यसको प्रभाव रहने हो भने पनि ३ अर्बभन्दा बढीको क्षति हुने विश्लेषण छ । अर्थतन्त्रको ४० प्रतिशतभन्दा बढी हिस्सा पर्यटन उद्योगबाट जोहो गर्ने माल्दिभ्स र पलाउजस्ता मुलुकका लागि त यो अवस्थाले विकराल रूप लिन सक्छ । चीनबाट मात्रै होइन, अन्य देशबाट आउने पर्यटकको कमीले यस क्षेत्रको रोजगारी र आम्दानी दुवै गुम्नेछ ।

– एजेन्सीको सहयोगमा

नेपालबारे अध्ययन गरिँदै

कोभिड–१९ का कारण नेपालको अर्थतन्त्रमा पर्ने प्रभावबारे अध्ययन थालिएको अर्थ मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणले नेपालको आर्थिक वृद्धिदरमा असर गर्ने अर्थमन्त्री युवराज खतिवडाको अनुमान छ । ‘यसले आर्थिक वृद्धिमा ठ्याक्कै कति असर गर्छ भनेर अहिले नै भन्न सक्ने स्थिति भने छैन,’ उनले भने, ‘अध्ययनपछि यसबारे थाहा हुनेछ ।’

सरकारले यस वर्षका लागि ८.५ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य बजेटमार्फत तय गरेको छ । कोरोना संक्रमण देखिनुपूर्व नै यो वृद्धिदर हासिल नहुने प्रक्षेपण विभिन्न दातृ निकायले गरिसकेका छन् । ‘नेपालको अर्थतन्त्रमा पार्ने प्रभावबारे अबका घटनाक्रमअनुसार निरन्तर अध्ययन हुने विषय हो,’ उनले भने ।

यसका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीहरूले तथ्यांक संकलन तथा त्यसको विश्लेषण गरिरहेका छन् । ‘यो अध्ययनका लागि छुट्टै कुनै कार्यदल वा समिति बनाएर गरिएको हैन,’ अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख यज्ञप्रसाद ढुंगेलले भने, ‘राष्ट्र बैंक, अर्थ मन्त्रालय र अन्तरसम्बन्धित सरकारी निकायहरूका कर्मचारीहरूले तथ्यांक संकलन र सम्भावित असरका विषयमा अध्ययन गरिरहेका छन् ।’

हालसम्मको अवस्थाअनुसार कोभिड–१९ को असर नेपालको आयात–निर्यात, पर्यटन आगमन, विदेशी लगानी, वैदेशिक रोजगारी र रेमिट्यान्स, विकास निर्माणसहित अर्थतन्त्रका सबैजसो क्षेत्रमा देखापरिसकेको छ ।

चीनसँगको आयात–निर्यात ठप्प छ । भारत हुँदै आयात हुने सामग्रीमा भारी गिरावट आइसकेको छ । विकास निर्माणका लागि आवश्यक यन्त्र उपकरण र चिनियाँ श्रमिक नफर्किंदा ससानादेखि ठूला आयोजना निर्माण रोकिन थालेका छन् । नेपालमा श्रम स्वीकृति लिने विदेशीमध्ये चिनियाँ नागरिकको हिस्सा ६० प्रतिशत छ, जसको सोझो असर यहाँको विकास निर्माणमा पर्ने पक्का छ ।

नेपालमा भारतीयपछि सबभन्दा बढी पर्यटक चिनियाँ नै आउने तथ्यांक रहेको र यस वर्ष त्यसमा भारी गिरावट आइसकेको छ । चीन मात्रै नभई अन्य देशबाट समेत पर्यटक आगमन घटेपछि काठमाडौंको ठमेल, पोखरा, चितवनको सौराहालगायत पर्यटकीय गन्तव्य सुनसान छन् । विदेशी लगानी र त्यस्ता लगानी स्वीकृत भइसकेका आयोजना एवं विकास निर्माणको काम पनि रोकिन थालेको छ । अर्को असर भनेको कामको खोजीमा बिदेसिने श्रमिकहरू र त्यसबाट प्राप्त हुने रेमिट्यान्समा देखापरेको छ । कोभिड–१९ नेपालीको प्रमुख श्रम गन्तव्य देशहरूमा फैलिइसकेका कारणले नेपाली त्यता जान छाडेको र भविष्यमा रेमिट्यान्स कम हुने सम्भावना देखिएको छ । नेपालको एक प्रमुख श्रम गन्तव्य दक्षिण कोरियामा संक्रमण निकै फैलिइसकेका कारण नेपालीलाई त्यता पठाउन पनि रोकिएको छ ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *