प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन



प्राकृतिक उपचार : चिकित्सा विज्ञान र जीवन दर्शन

प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामी ९०% रोगबाट बच्न सक्छौं ।

साथै प्राकृतिक चिकित्सालयमा कुनैपनि पाश्र्व प्रभाव (Side effect) आउन सक्ने प्रकारको औषधिहरुको प्रयोग नभई केबल प्रकृति प्रदत्त शक्तिहरुको उपयोग गरेर उपचार गरिन्छ । जस्तैः माटो, पानी, सूर्यको किरण, हावा, आकाश । यी तत्वहरुलाई आवश्यकता हेरेर विभिन्न रुपमा रोगीसँग जोडेर उपचार दिने काम चिकित्सकको हो भने रोगलाई ठिक गर्ने काम यिनै पञ्च तत्वमा रहेको महान शक्तिको हो । प्राकृतिक चिकित्सकले एउटा चिकित्सकको भूमिका भन्दा पनि जीवनशैली सिकाउने शिक्षकको भूमिका निर्वाह गरेका हुन्छन् ।

औषधिको प्रयोगः
प्राकृतिक चिकित्सालाई औषधि बिहिन चिकित्सा पद्धति मान्न पनि भनिन्छ तर सबेरै उठेर मह र कागति–पानी, बिहान ७ बजे, गहुँको जमार, दुवो वा अन्य कुनै ताजा फलको रस, बिहान बेलुकाको खानामा चोक्कर सहित आँटाको रोटी, ब्राउन राईस, दलिया, अंकुरीत दाल, सलाद, आफ्नै उत्पादन अर्गानिक तरकारी र आफ्नै गाई फर्मको ताजा दुध–दहि कुनैपनि औषधि भन्दा धेरै गुणा प्रभावकारी र दुष्परिणाम रहित छ । त्यसैले “भोजन नै औषधि हो र औषधि नै भोजन हो” भन्ने तथ्य पनि प्राकृतिक चिकित्सामा प्रमाणित भएको छ ।

लेखक : डा. विनाेद पाैडेल

उपचार पद्धति ?
प्राकृतिक चिकित्सालयमा उपचार गरिने उपचार पद्धतिको बारेमा कुरा गर्दा पञ्च महाभूत अथवा पञ्च तत्वको समुचित प्रयोग गरेर उपचार गर्ने गरिन्छ । रोगको प्रकृति र रोगीको अवस्था दुवैलाई ख्याल राख्दै माटो, पानी, हावा, सूर्यकिरण, आकाशलाई भिन्न–भिन्न रुपमा शरिरसँग जोड्ने काम गरिन्छ । यो उपचारको प्रमुख भूमिका भनेको शरिरमा रहेको फोहर (त्यहष्ल) लाई बाहिर निकाल्नुका साथै शरिरमा जीवनी शक्ति बढाउने काम पनि भैरहेको हुन्छ । यो उपचारले कुनै अंग कम्जोर छ भने त्यो अंगलाई सक्रिय बनाउन मद्दत गर्दछ ।

प्राचीन समयमा यिनै पञ्च तत्वको मात्र प्रयोग गरेर उपचार गरिएको भएतापनि हालको प्राकृतिक चिकित्साले फिजियो–थेरापी, अकुपंचर, काइरो प्राक्टीस जस्ता औषधि प्रयोग नहुने आधुनिक चिकित्सा पद्धतिलाई पनि आफूमा समेटेको छ । जसले गर्दा प्रमुख उपचार विधि पञ्च तत्व भएपनि फिजियो र अकुपंचर आवश्यकता अनुसार प्रयोग गरिंदै आएको छ । यस्ता पद्धतिले प्राकृतिक चिकित्सालयको उपचार अवधी कम गरी छिटो स्वस्थ हुनमा मद्दत गर्दछ ।

उपचार विधिः
Mud Therapy 
Hydro Therapy 
Yogic Therapy 
Physiotherapy 
Acupuncture 
Diet Therapy
Colour Therapy 
Manipulative Therapy
यसैगरी नङ र मासुको सम्वन्धको रुपमा प्राकृतिक चिकित्सासँग जोडिएको विधा योगलाई बृहत रुपमा प्रयोग गरिन्छ । बिहानै सामान्य सवैका लागि योगाभ्यास गराउनुका साथै रोग अनुसार आवश्यक फरक फरक योग कक्षा पनि सञ्चालनमा रहन्छ । बेलुकामा ध्यान वा विशेष योग कक्षाको समेत आयोजना हुने गर्दछ । साथमा प्रकृति प्रदत्त जडिबुटीलाई प्रशोधन नगरिकन प्रयोगमा ल्याउने काम यस प्राकृतिक चिकित्सालयमा हुन्छ ।

उपचार हुने रोगहरुः
प्राकृतिक चिकित्सालाई अन्तिम विकल्पको रुपमा हेरिदै आएको छ तर प्राकृतिक चिकित्सा भनेको शरिरको सफाई गर्ने (Boddy Servicing Center) ठाउँ हो । प्रत्येक स्वस्थ मानिसले पनि कम्तिमा वर्षको १५ दिन प्राकृतिक चिकित्सालयको उपचार सेवा लिँदा शरीर सफाई हुनुका साथै स्वास्थ्य सम्बन्धि ठूला समस्याहरु क्यान्सर, प्यारालाईसिस, उच्च रक्तचाप, दम, मधुमेह जस्ता रोगबाट बच्न सकिन्छ । यदि कुनै स्वास्थ्य समस्या देखिन गएमा पहिले नै प्राकृतिक चिकित्सकसँग परामर्श लिनु उत्तम हुन्छ ।

सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हालसम्म आपतकालीन युनिटको स्थापना हुन नसकेको कारणले आपतकालिन सेवा उपलब्ध छैन त्यो बाहेक सबै खाले दीर्घ तथा तिब्र रोगको उपचार यहाँ सम्भव छ ।

प्राकृतिक चिकित्सा पद्धतिबाट सफलताका साथ उपचार हुने रोगहरुः
टाउको दुख्ने (माइग्रेन)
पिनास
शरिरको कुनैपनि दुखाई
डिप्रेसन
टन्सीलाइटिस
मोटोपन
मधुमेह
एलर्जी
कोलाइटिस
पेटको अल्सर
कब्जीयत
मृगौला सम्बन्धि समस्या
महिला सम्बन्धि समस्या
छाला सम्बन्धि सम्पूर्ण समस्या
थाइराइड सम्बन्धि समस्या
सवै प्रकारका बाथ
मुटुको ब्लकेज
पायल्स
पुरुषग्रन्थी बढ्नु (प्रोष्टोमगाली)
दम
ढाड कम्मर दुखेको
नशा च्यापिएको
जन्डिस
कलेजोमा बोसो जमेको
पत्थरी
उच्च एवं निम्न रक्तचाप

अन्य चिकित्सा पद्धति भन्दा के भिन्नता ?
एलोपेथीः रोगको मुख्य कारण किटाणु हुन् । तिनलाई मारेपछि ठिक हुन्छ ।
आयुर्वेदः रोगको मुख्य कारण कफ, बात र पित्तको बेमेल वा असन्तुलन हो । उपचार भनेको तिनको सन्तुलन हो ।
प्राकृतिक चिकित्साः रोगको कारण शरिरमा बिजातिय द्रव्य जम्मा हुनु हो र तिब्र रोग जस्तैः रुघा, खोकी, पखाला हाम्रो शरिरको सफाईको लागि आउँछन् जसलाई सहि तरिकाले व्यवस्थापन गर्नुपर्छ ।
सबैभन्दा महत्वपूर्ण भिन्नता त प्राकृतिक चिकित्सा मात्र एउटा यस्तो उपचार विधि हो जसमा कुनैप्रकारको औषधिहरु प्रयोग हुँदैन, यो चिकित्सा पद्धति बाहेक सवैका आ–आफ्नै प्रकारका औषधिहरु हुन्छन् ।
प्राकृतिक चिकित्सामा कुनै शारिरिक समस्या वा रोगको उपचार मात्र हुने नभई योग, ध्यान, प्राणायामको माध्यमबाटसामाजिक, आध्यात्मीक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ, अझ भन्नु पर्दा शरिर, आत्मा र मनको समेत उपचारगर्ने उपचार पद्धति भनेको प्राकृतिक चिकित्सा हुन् ।

प्राकृतिक चिकित्सामा एउटा अंग वा समस्याको उपचार गराउँदा पुरा शरिरको नै उपचार भैरहेको हुन्छ । उदाहरणको लागिकोही मृगौलामा पत्थरी भएर उपचार गर्न आउँछ भने साथमा उसको टाउको दुख्ने, उच्च रक्तचाप आदि अन्य समस्याको पनिउपचार भैरहेको हुन्छ ।

प्राकृतिक चिकित्सा बाहेक अन्य कुनै चिकित्सा पद्धति यस्तो छैन जहाँ रोग नलाग्दै उपचार गरीयोस । प्राकृतिक चिकित्सामात्र यस्तो पद्धति हो जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । कुनैपनि दीर्घ वा तिब्र रोगबाट बचाउन मद्दतगर्दछ त्यसैले यो पद्धतिमा रोग नलाग्दै वर्षमा कमसेकम १५ दिन उपयोग गर्नु आवश्यक हुन्छ ।
रोगलाई दबाउने काम प्राकृतिक चिकित्साले गर्दैन बरु रोगको मूल कारण नै नष्ट गरेर शरिरलाई पूर्ण स्वस्थ बनाउन मद्दतगर्दछ ।

राष्ट्रलाई कस्तो सहयोग पुगेको छ ?
प्राकृतिक चिकित्सामा प्रयोग हुने उपचार सामाग्री भनेको प्रकृति प्रदत्त निसुल्क प्राप्त हुने शक्तीहरु हुन् जसलाई जुन सुकै ठाँउमापनि सजिलै प्राप्त गर्न सकिन्छ । जसको लागी ठुलो रकम तिर्नुपर्ने र बिदेशबाट आयात गर्नुपर्ने अवस्था रहदैन । हाम्रो जस्तोदेश जहाँ बर्षेनि २० अर्ब रुपैयाको औषधी र १२ अर्ब रुपैयाको उपचार जन्य बस्तुको आयात गरिन्छ यो त सरकारी आँकडा होयो बाहेक ब्यक्तिगत रुपमा बिदेशमा गएर उपचार गर्ने र औषधीमा गरेको खर्च जोड्ने हो भने त कहाली लाग्दो आँकडा आँउछ ।

स्वास्थ्य क्षेत्रमा सरकारले पनि आन्तरिक रुपमा ठुलो लगानी गरेको हुदाँ पनि रोगीको संख्या घट्नुको सट्टा बढ्दै जानु एउटाचुनौतीको बिषय नै हो ।
हाम्रा नेता मन्त्री बिदेश गएर उपचार गर्दै धेरै रकम खर्च गरिरहेका छन् तर प्राकृतिक चिकित्सालय रजहरमा अष्टे«लिया, अमेरिका, क्यानेडा, जापान, दक्षिण कोरिया जस्ता बिभिन्न देशबाट बिदेशी नागरिक आएर उपचार गराएको तथ्य हामीसँग छ ।

प्राकृतिक चिकित्सालयमा उपचार गराउने क्रममा बिरामीले प्रयोग गर्दै आएको औषधिको मात्रा घट्दै गएर प्रयोग नैगर्नु नपर्ने अवस्थामा पुग्ने र औषधिको प्रयोग गर्नुपर्छ भन्ने अवस्थामा रहेको बिरामीले यो उपचार पद्घतिको अभ्यासलेऔषधिको प्रयोग गर्न नपर्ने कारणले गर्दा स्वास्थ क्षेत्रमा रहेको परनिर्भरता हट्नुको साथै औषधिको प्रयोगले हुने दुष्परिणामबाट समेत बचाउन प्राकृतिक चिकित्साले मद्घत पुर्याएको छ । नेपालको प्राकृतिक वातावरण र सौन्दर्यलाई हेर्दा बिदेशी नागरिकहरुलाई लक्षित गरेर स्वास्थ्य पर्यटनको बिकास गर्न सकेमा देशलाई ठुलो आर्थिक सहयोग समेत हुने देखिन्छ ।

कस्तो जीवन शैली सिकाइन्छ ?
सामान्यतया रोग लाग्नुको कारण भनेको हाम्रो अप्राकृतिक जिवनशैली नै हो । हाम्रो जिवनशैली कस्तो हुदै गयो भने हामीलाईतिर्खा लाग्यो भने पानीको सट्टा कोक–फेन्टा जस्ता चिसो पेय पदार्थ रोज्ने आफ्नै घरमा बनाएको नास्ता भन्दा होटलकोम.म, चाउमिन वा अन्य तयारी प्याकेट बन्दका खाने कुराको प्रयोग गर्ने, ताजा फलफूल भन्दा बजारका बिभिन्न रंग र केमिकल प्रयोग गरी बनाइएको अस्वस्थकर मिठाइको प्रयोग गर्ने, सामान्य रुघा–खोकी वा स्वास्थ्यमा सामान्य समस्या देखा परेमा पनि तुरुन्तै औषधिको प्रयोग गर्नेबानी र शौख बढ्दै गएको छ ।

यस्ता जिवनशैलीनै दीर्घरोगका कारण बनेका छन् । जस्तै हड्डी खिइने, उच्च रक्तचाप, क्यान्सर आदि । साथै, अनावश्यक लोभ, सुख–सयल, आरामको लागी एक अर्कामा अस्वस्थकर प्रतिस्पर्धाले तनावयुक्त जिवन जिउन बाध्य बनाएको छ । जसले गर्दा तनावका कारणले हुन सक्ने रोग ८० प्रतिशतको दरमा बढ्दो छ । जस्तै ः दम,मधुमेह, उच्च रक्तचाप, डिप्रेशन आदि ।

ब्यस्त जीवन जहाँ शारीरिक परिश्रम नै छैन जति छ मानसिक परिश्रम र तनाव मात्र छ । राति अबेर सम्म टेवलमा काम गर्ने, बिहान ढिला गरी उठ्ने र फेरी अफिस जाने, मोबाइल वा इन्टरनेटमा रमाउने तर कुनै योगा वा खेलकुदमा सहभागी नहुने कारणले गर्दा मानिस दीर्घ रोगी बन्दै गएका छन् ।

प्राकृतिक चिकित्सालयको बसाइले के खाने, कति खाने, कसरी खाने जस्तासम्पुर्ण कुराको जानकारी दिने गर्दछ । यस्तै, तनावमुक्त जिवन कसरी जिउने छोटो समयमा शारीरिक र मानसिक रुपमा कसरी आरामगर्ने, उमेर समय अनुसारकस्ता ब्यायाम वा योगाको अभ्यास कसरी र कुन समयमा गर्ने जस्ता स्वस्थ रहनको लागी अपनाउनुपर्ने अत्यावश्यक जिवनशैलीको कुरा प्राकृतिक चिकित्सालयमा सिकाउने गरिन्छ । त्यसैले यो चिकित्सालय भन्दा पनि जिवनशैली सिकाउने पाठशालाहो भनेर भन्न सकिन्छ । बिरामी उपचारको लागी चिकित्सालय आउँदा जिवनशैली सिकेर फर्कने गर्दछन् ।
जय प्रकृति !
(पौडेल सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरका निर्देशक हुन्)

अभियान पोष्ट