महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा



महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण सर्वोच्च अदालतमै हुने भएको छ । विगतको परम्पराविपरीत नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ ग्रहण राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको हो ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको छ ।

महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।

महान्यायाधीवक्ता खातीले आफू राष्ट्रपति, सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको र राष्ट्रपतिबाटै नियुक्ति गरिएको हुँदा शपथ पनि विगतको अभ्यास अनुसार हुनुपर्ने अडान लिएका थिए । तर राष्ट्रपति कार्यालयले भने सर्वोच्चलाई नै परिपत्र गरिएकोले उतै शपथ लिन र राष्ट्रपतिलाई भेट्ने भए आउन भनेको स्रोतले बतायो ।

यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।

अभियान पोष्ट