Saturday, December 3
Shadow

“सी जिनफिङ माओ बन्ने बाटोमा”


  • -इ
  • इ+

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा भएको छ। पार्टीको नेतृत्वमा अहिले ६८ वर्षीय सी चिनफिङ छन्। उनी शक्तिमा आएको नौ वर्ष भइसक्यो। तीन वर्षअघि उनले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने व्यवस्था परिवर्तन गराएका छन्। त्यसैले उनले सन् २०२८ सम्म र सम्भवतः २०३३ सम्मै नेतृत्व नछाड्न सक्छन्।

अर्को वर्ष पार्टीको २० औँ सम्मेलन हुँदैछ। के अहिले महासचिव रहेका सीले सो सम्मेलनमा माओको पार्टी अध्यक्षको पदवी लेलान्? अहिलेको मुख्य प्रश्न हो यो। प्रशंसकहरुका लागि सी सही समयको सही व्यक्ति हुन्। जो देश र पार्टीलाई ‘नयाँ युगमा’ डोर्‍याउन तम्तयार छन्। नयाँ युगको अर्थ चीन अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्नु र सैन्य तथा प्रविधिको क्षेत्रमा विश्वको महाशक्ति बन्नु हो।
‘यो पार्टीले अनेकौँ ठक्कर खाएको छ,’ बेइजिङका एक बौद्धिक डेविड वाङले १९५० को दशकको भोकमरी र सांस्कृतिक क्रान्तिलाई उल्लेख गर्दै भने। ती घटनाहरुमा करोडौँको ज्यान गएको थियो। ‘तर, यो पार्टीले चीनलाई जित्यो र मुलुकलाई विश्वको महाशक्ति बनायो। यो प्रेरक कुरा हो।’

‘म यो पार्टीमा सामेल भएँ किनभने चीनलाई सही बाटोमा लैजाने अर्को कुनै राजनीतिक शक्ति थिएन,’ केही वर्षअघि अमेरिकामा पीएचडी गरेर फर्केका वाङ भन्छन्, ‘अमेरिका र चीन दुवै मुलुकमा साधारण जनता भीडजस्ता छन्, जसलाई मार्गनिर्देशनको आवश्यकता पर्छ। औसत चिनियाँहरु पश्चिमा शैलीको लोकतन्त्रका लागि तयार छैनन्। उनीहरुलाई बाटो देखाउन आवश्यक छ। अमेरिकामा सबैजना आआफ्नो विचार राख्न स्वतन्त्र छन् तर, काम केही पनि हुँदैन। चीनले त्योभन्दा अलग बाटो समाउनुपर्छ।’
सीको एउटा भनाइ चर्चित छ– ‘उत्तर, दक्षिण, पूर्व, पश्चिम र माझ, सबैतिरको नेता पार्टी नै हो।’ कतिपय भने उनको यो भनाइसँग चिढिएका छन्। यसले पार्टीलाई शीर्ष तहबाटै कठोर बनाउने र आफ्नै विध्वंस निम्त्याउने उनीहरुको तर्क छ।

‘जीवनको हरेक पक्षमा पार्टीको नियन्त्रण छ,’ सिङ्हुवा युनिभर्सिटीका पूर्वप्राध्यापक तथा पार्टीका प्रमुख आलोचकमध्ये एक वु चियाङ भन्छन्, ‘पार्टीभित्र र पार्टीबाहिर फरक आवाज छैन। नतिजा, नियन्त्रण र सन्तुलन हुँदैन। जसका कारण सानो गल्ती भयंकर गल्तीमा रुपान्तरण हुन्छ र पार्टीलाई खतरामा पार्छ।’

तेस्रो परिवर्तनकारी नेता?
सी आफ्ना थुप्रै सहकर्मीजस्तै ‘राजकुमार’ हुन्। अर्थात्, उनका पिता माओ र देङ स्याओपिङको कार्यकालमा पार्टी र सरकारको उच्च पदमा थिए। देङलाई चीनको ‘सुधार र खुलापन’ को आर्किटेक्ट मान्ने गरिन्छ, जुन कार्यक्रमले मुलुकलाई पूर्ण रुपमा परिवर्तन गरेर आर्थिक महाशक्ति बनाइदियो।
चीनमा सीका आलोचकहरु खुल्लमखुल्ला बोल्न डराउँछन्। तर, उनको आलोचनामा एउटा कुरा भने दोहोरिरहेको हुन्छ। उनीहरुको तर्क छः माओ र देङको तुलनामा सीका उपलब्धि निकै साना छन्। माओ र देङ दुवै छापामार युद्धबाट खारिएका थिए। माओले राजनीतिक क्रान्ति जितेका थिए भने देङले आर्थिक क्रान्ति सुरु गरेका थिए।

तथापि सी आफूलाई माओ र देङकै हाराहारीको ‘परिवर्तनकारी’ नेता ठान्छन्। जसले उनीअघिका हु जिन्ताओ र जियाङ जमिनले जस्तै सबै नियम पालना गर्न जरुरी छैन। यो हिसाबले काम गर्दा गत ४० वर्षमा प्राप्त गरेको आर्थिक सफलताको जगलाई सीले भत्काउन सक्ने आलोचकहरुको भनाइ छ।
देङ पनि पार्टीलाई प्रमुखता दिन्थे। उनले सन् १९८९ को तियानमेन चोकको प्रदर्शनलाई दमन गर्न जनमुक्ति सेनालाई आदेश दिएका थिए। किनभने शक्तिमा पार्टीको पकड कमजोर हुने डर उनलाई थियो। तर, उनले पार्टीले अर्थतन्त्रको घाँटी ननिमोठोस् भन्ने सुनिश्चितताका लगि संस्थागत नीति कार्यान्वयन गराए। उदाहरणका लागि स्थानीय र क्षेत्रीय तहका अधिकारीहरुलाई अलि बढी स्वतन्त्रता दिइयो, ‘सामूहिक नेतृत्व’को अवधारणा ल्याइयो र दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाइने नियम बनाइयो।
‘अरु राजकुमारहरु सीलाई आफूमध्येकै एक ठान्छन्। एउटै वर्गबाट आएका,’ हङकङस्थित चाइनिज युनिभर्सिटीका चिनियाँ राजनीतिसम्बन्धी विज्ञ विली लाम भन्छन्, ‘आफूसँगै हुर्केका सी चिनफिङ अहिले दोस्रो माओ बनेको, उनले उत्तराधिकारसम्बन्धी देङको प्रमुख उपलब्धिलाई निषेध गरेको र माओको जस्तै व्यक्तिपूजालाई ब्युँताएको तथ्य पचाउन ती राजकुमारहरुलाई गाह्रो भइरहेको छ।’
‘हाम्रो अधिकार खुम्चियो’
वुहाननजिकैको एउटा गाउँमा स्थानीय पार्टीका सचिवले अठारौँ महाधिवेशनबाट शक्ति केन्द्रीकरण बढेको बताए। २०१२ को सो महाधिवेशनपछि सी सत्तामा आएका थिए।

‘माथिबाट तलको निर्णय गर्ने चलन बस्यो,’ उनी भन्छन्, ‘अहिले हाम्रो काम भनेको माथिल्लो संगठनले दिएको काम गर्नु हो। साधारण मान्छे के सोचिरहेका छन्, त्यसको जानकारी हामीलाई बढी हुन्छ। तर, यो कुरा नीति निर्माणको तह त छाडौँ, हाम्रा नेताहरुलाई सुनाउन पनि कठिन छ।’

‘पहिले सार्वजनिक मामिलामा सहभागी हुन गाउँका बासिन्दालाई बढी स्वतन्त्रता थियो,’ उनी थप्छन्, ‘राष्ट्रपति सी सत्तामा आएपछि हाम्रो अधिकार खुम्चेको छ।’
बेइजिङस्थित केन्द्रीय सरकारका एक सल्लाहकारले भने स्थानीय स्तरको लोकतन्त्रले ‘समाधानभन्दा धेरै समस्या सिर्जना गर्ने’ टिप्पणी गरे।

सिङ्हुवाका विद्वान वु भने यसमा असहमत छन्। सीको नेतृत्वमा पार्टीका अधिकारीहरुले आफ्नो वास्तविक विचार लुकाउने गरेको उनको भनाइ छ।
‘नयाँ तरिका खोज्ने, आर्थिक विकासमा जोखिम मोल्ने प्रवृत्ति स्थानीय अधिकारीहरुमा थियो,’ वु भन्छन्, ‘अहिले उनीहरु उपल्ला अधिकारीहरुलाई पछ्याउँछन्। सबैको हात बाँधिएको छ, त्यसैले उनीहरु केही गर्दैनन्।’
हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो र जी ७ बैठकमा सहयोगी मुलुकहरुको ‘एकीकृत मोर्चा’ बनाएर चीनलाई टक्कर दिने प्रयास गरे। यसले चिनियाँ अधिकारीहरु रुष्ट छन्।

‘नेटो एसिया–प्यासिफिक क्षेत्रमा फैलिन चाहन्छ भने स्वागत छ,’ देङको अनुवादकका रुपमा काम गरेका चिनियाँ कूटनीतिज्ञ भिक्टर गाओ भन्छन्, ‘चीन पाँच हजार वर्षदेखि यहाँ छ। अबको पाँच हजार वर्षसम्म पनि यहीँ रहनेछ। नेटोले जे गरे पनि चीन अडिग रहन्छ।’
‘बाइडेन अमेरिका आफ्नै ठाउँमा फर्कियो भन्छन्। तर, चार वर्षमा ट्रम्प नै फर्किन पनि त सक्छन् नि, होइन?’ गाओले थपे।

जर्ज डब्लू बुस र बाराक ओबामा दुवैको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयमा कर्मचारी रहेका पाउल हेन्ले यसमा सहमत छन्।
‘अमेरिकी लोकतन्त्रको अनिश्चित भविष्य र ट्रम्पको सम्भावित पुनरागमनले अमेरिकाका सहयोगी मुलुकहरुलाई खुल्लमखुल्ला चीनसँग टक्कर लिनबाट रोक्छ,’ उनी भन्छन्, ‘तर, चीनप्रति बढ्दो नकारात्मक भावना बेइजिङले आफ्नै गल्ती नसुधारेसम्म बदलिँदैन।’

‘द पार्टीः द सिक्रेट वर्ल्ड अफ चाइनाज् कम्युनिस्ट रुलर्स’ पुस्तकका लेखक रिचर्ड म्याकग्रेगरले भने पार्टीको आत्मविश्वास अभिमानमा बदलिँदै गएको बताए।
‘चीनको मुख्य शक्ति आत्मालोचना हुनुपर्छ। तर, त्यो अहिले देखिँदैन,’ उनी भन्छन्, ‘विजयको भावना छ। सी चिनफिङभन्दा पर कुनै बाटो छैन। यो खतरनाक छ।’
‘अब कामदारको पार्टी रहेन’
चार दशकदेखि यो पार्टीले आफूलाई सम्पूर्ण रुपमा चिनियाँ जनताको सेवक बताउँदै आएको छ। पार्टीको विधानले क्रान्तिकारी मिसन पुरा गर्न सदस्यहरु ‘सबैथोक बलिदान गर्न तयार’ हुनुपर्ने बताएको छ।
सीको नेतृत्वमा यो विचारलाई व्यवहारमा उतार्न निकै जोडबल लगाइएको छ। पार्टी सदस्यहरुले काम गर्ने ठाउँमा पनि सदस्यताको परिचय दिने लकेट लगाउनुपर्ने हुन्छ। ताकि, उनीहरुलाई आफ्नो कर्तव्य सम्झाउन सकियोस्। अथवा, अरुले उदाहरणीय कामदारका रुपमा उनीहरुलाई चिनून् र सहयोग माग्न सकून्।

गाउँगाउँमा पनि यस्तै अभियान चलिरहेको छ। जहाँ परिवारलाई नै वर्गीकृत गरिएको छ। पूर्वी प्रान्त झेज्याङको सिनसिजी नामक एक गाउँमा प्रत्येक घरको अगाडिको ढोकामा परिवारमा कति जना पार्टी सदस्य छन् भन्ने उल्लेख गरिएको छ।
पार्टी सदस्यका परिवारले ‘उच्च नैतिकता प्रदर्शन गर्ने’ देखि लिएर ‘स्थानीय अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने’ सम्मका अपेक्षा गरिन्छ। त्यसविपरीत जुन परिवारमा पार्टी सदस्य छैनन्, तिनले फोहोर ठिकसँगै व्यवस्थापन गरे पुग्छ।

तर, सार्वजनिक हितलाई मध्यनजर राख्ने नयाँ सदस्य भर्ती गर्न पार्टीले कठिनाइ बेहोरिरहेको छ। दर्जनौँ अध्ययनहरुले देखाएका छन्– युवाहरु व्यक्तिगत फाइदालाई हेरेर मात्र पार्टी सदस्य भइरहेका छन्। वुहानस्थित चोङनान युनिभर्सिटीका अध्येताहरुले एक हजार ८८५ जना कलेज जाने उमेरका पार्टी सदस्यहरुमाझ सर्वेक्षण गरेका थिए। त्यसमध्ये धेरैले करिअर राम्रो बनाउन पार्टी सदस्यता लिएको जवाफ दिएका थिए।

‘मैले चाहेको काम गर्न सीसीपीको सदस्यता आवश्यक पर्ने रहेछ। नत्र पार्टीमा सामेल हुने मेरो योजना थिएन,’ सरकारी जागिर खोजिरहेकी बेइजिङकी टिना हुले भनिन्। सरकारी कम्पनी र विभागहरुले पार्टी सदस्यलाई रोजगारी दिन मन पराउँछन्। ग्रामीण क्षेत्रमा पार्टी सदस्यताका लागि किसानलाई भन्दा साना व्यवसायका मालिक र कारखाना सञ्चालकलाई बढी प्राथमिकता दिइन्छ।

‘नयाँ सदस्यले पुरै गाउँलाई समृद्धितर्फ लैजाओस् भन्ने हाम्रो अपेक्षा हुन्छ,’ वुहाननजिकको गाउँका पार्टी सचिव भन्छन्, ‘बदलामा हामी उनीहरुलाई सहज ऋण र सरकारी ठेक्कालगायतमा सहयोग गर्छौँ।’
‘यो अब कामदार र किसानको पार्टी रहेन,’ लेखक म्याकग्रेगर भन्छन्, ‘यो म्यानेजर र व्यवसायीहरुको पार्टी हो।’

पार्टीले सन् २०१८ मा २१ लाख नयाँ सदस्य थपेको थियो। तीमध्ये ५ हजार ७०० जना मात्र आप्रवासी कामदार थिए। जबकि चीनमा काम गर्ने उमेरको जनसंख्यामध्ये एक तिहाइ आप्रवासी कामदार नै छन्।
सीको नेतृत्वमा पार्टीतन्त्र बलियो बनेको छ। जसले ज्याक माको अलिबाबा र पोनी माको टेन्सेन्टजस्ता निजी क्षेत्रका हस्तीहरुलाई समेत लगाम कस्ने गरेको छ। तर, आर्थिक वृद्धिलाई कायम राख्न निजी क्षेत्रका व्यवसायीहरुको ठूलो हात छ भन्ने पनि पार्टीले बुझेको छ।

‘ज्याक मालाई कुनै गाह्रोसाह्रो पर्ने छैन,’ एक वरिष्ठ चिनियाँ अधिकारीले भने, ‘उनले अर्थतन्त्रमा राम्रो योगदान गरेका छन् र अझै पनि उनी सम्मानित छन्। उनले देश र जनताको ठूलो सेवा गरेका छन्। सिक्नुपर्ने पाठ कति मात्रै हो भने चीनमा ज्यादा चर्चामा रहनु ठिक होइन।”

बेइजिङका विद्वान तथा पार्टी सदस्य वाङ आगामी ३०–४० वर्षपछि मात्रै मानिसहरुले आफूलाई लागेको बोल्दा र गर्दा पार्टीले चिन्ता लिनु नपर्ने समय आउने भविष्यवाणी गर्छन्।

‘मलाई आशा छ, त्यसबेला मानिसहरु बढी स्वतन्त्र हुनेछन् र आफूलाई लागेको विश्वास गर्न सक्नेछन्,’ उनी भन्छन्।
अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सले गरेको विश्लेषणलाई नेपालखबर अनलाइनले गरेको अनुवाद ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्