Sunday, April 2
Shadow

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने


  • -इ
  • इ+

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा गरेको हो ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १८ असारमा बस्ने गरी एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको बताए ।

दोस्रो तहका नेताहरूको छलफल र सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि २ जेठकै अवस्थामा एमालेलाई फर्काउन अध्यक्ष ओली सहमत भएका हुन् । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्व कायम हुनुपर्ने माग पार्टीभित्र भइरहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूहले २ जेठको पार्टी कमिटी अनुसार अघि बढ्नुपर्ने अडान राख्दै आएका थिए ।

महाधिवेशन आयोजक कमिटीको एजेन्डा तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यबारे टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको हो । बुधबार बस्ने आयोजक कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान हुनेछ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ ।

एमाले स्रोतका अनुसार ३ जेठ २०७५ सम्म जो जुन पदमा थिए सोही पदीय जिम्मेवारीसहित केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन् । अर्थात् नेकपा एकतापछि एमालेमा फर्किएका पूर्वमाओवादी केन्द्रका नेताहरूसमेत सोही जिम्मेवारीसहित एमाले बैठकमा सहभागी हुनेछन् । नेकपामा हुँदा उनीहरू जुन जिम्मेवारीमा थिए त्यो यथावत् नै रहनेछ । यो समाचार राजधानी दैनिकमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्