काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र हालै रिहाई भएका केन्द्रीय सदस्य माइला लामासहितका नेताहरुबीच भेटघाट भएको छ । पार्टी केन्द्रीय कार्यालय शवगढी कपिलबस्तुमा भेटघाट भएको हो ।
लामासँगै पार्टीका तत्कालिन काठमाडौँ जिल्ला सेक्रेटरी भिमसेन घिमिरे ‘बिपिन’ र जनगणतान्त्रिक सम्पर्क मंचमा कार्यरत अर्जुत कटुवाललाई महासचिव विप्लवले पार्टी कार्यालयमा स्वागत गरेका थिए । हालै रिहा भएका लामा र महासचिव विप्लवबीच २८ महिनापछि भेट भएको थियो । त्यस्तै युवा नेता विपिन तीन महिना हिरासत, जेल जीवनपछि रिहा भएका थिए भने २५ दिनमा कटुवाल रिहा भएका थिए । लामालाई प्रहरीले २०७६ साल साउनमा गिर.फ्तार गरी विभिन्न मुद्धा लगाएको थियो ।
अदालतले रिहाईको लागि दिएको आदेश लत्याउँदै प्रहरीले पुनः गि’रफ्तार गर्दै विभिन्न जिल्लामा पुर्याउँदै सङ्खुवासभा कारागारमा बन्दी बनाएको थियो । सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिपछि बैशाख १६ गते धरौटीमा रिहा भएर एक महिना स्वास्थ्यलाभपछि महासचिव विप्लवलाई भेट्न अन्य नेतासहित लामा कपिलबस्तु गएका थिए ।
भेटको क्रममा लामाले जेलका भोगाई तथा अनुभव, त्यहाँभित्रका समस्या, पार्टीप्रति सुरक्षाकर्मी र न्याय क्षेत्रको बुझाईसहितका अनुभव सुनाएका थिए । साथै, भेटमा सरकारसँग भएको तीन बुँदे सहमति, पार्टीका पछिल्ला निर्णयबारे जिज्ञासा समेत राखेका थिए । त्यस्तै विपिन र कटुवालले पनि प्रतिबन्द पछिका भोगाई र बुझाईसहितका अनुभवसँगै केही जिज्ञासा समेत राखेका थिए ।
जवाफमा महासचिव विप्लवले पार्टीका योजना कार्यान्वयनको सिलसिलामा गिर’फ्तार परी निर्भिकतापूर्वक विचारमा अडिग भएर मोर्चा समालेको भन्दै धन्यवाद दिए । त्यस्तै, पार्टी एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशामा प्रतिवद्ध रहेको बताउँदै विप्लवले प्रति’बन्द पछिकोअवस्था र सरकारसँग भएको सहमति र पार्टीका पछिल्ला निर्णयबारे जानकारी गराएको भेटपछि विपिनले जानकारी दिए ।
सरकारसँग भएको तीन बुँदे सहमति र पार्टीले पछिल्लो पटक लिएको कार्यनीतिक योजनाप्रति उठेका जिज्ञासा समाधान भएको भेटपछि लामाले बताए । त्यस्तै, बन्दै गरेको पार्टीको केन्द्रीय कार्यालय, कोरोना संक्रमितको उपचारको लागि बन्दै गरेको अस्पतालको पनि आफूहरुले अवलोकन गरेको बताउँदै महासचिव विप्लवलसहित जनता र पार्टीका नेता कार्यकर्ताले गरेको काम देखेर उत्साहित भएको लामाले बताए ।