Thursday, June 1
Shadow

साउन १ देखि नै क्लिनफिड लागू गर्न माग


  • -इ
  • इ+

काठमाडौं । सञ्चारसम्बन्धी विभिन्न संघ संस्थाहरुले आउँदो साउन १ गतेदेखि विदेशी च्यानलमा क्लिनफिड (विज्ञापनरहित) नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रशारक संघ (अक्युराव), ब्रोडकाष्टिङ एशोशिएसन अफ नेपाल (बान), र नेपाल विज्ञापन संघका प्रतिनिधिले आगामी कात्तिक ८ देखि लागू गर्ने भनेको क्लिनफिड नीति तत्काल लागू गर्न माग गरेका हुन् ।

‘…आगामी कात्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फिड नीतिलाई नयाँ आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ’ ज्ञापनपत्रमा भनिएको छ ।

हाल भारतीय च्यानलहरु नेपालमा विज्ञापनसहित प्रशारण हुँदै आएका छन् ।

विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम भएको उनीहरुले बताएका छन् ।

‘क्लिन फिडको सिधा लाभ राष्ट्रले पाउँछ । तसर्थ बिलम्ब नगरी यो नीति कार्यान्वयन गर्नु देश र जनता सबैको हितमा रहेको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

मिडियासम्बन्धी संघ संस्थाहरुले हालै भारतीय टेलिभिजनले नेपाल, प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा गरेको तल्लो स्तरको टिप्पणी गरेको भन्दै विरोध जनाएको छ ।

‘भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ’ ज्ञापनपत्रमा भनिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्