Wednesday, May 31
Shadow

जाजरकोटमा पहिरोले पुरिएको ९ जनाको शव भेटियो, ६ बेपत्ता


  • -इ
  • इ+

जाजरकोट। जाजरकोटमा पहिरोमा परी बेपत्ता भएका ८ जना मध्ये शनिबार दुई जनाको शव भेटिएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो

शनिबार बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको सब फेला परेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार नै भेटिएको थियो ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका–४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

शुक्रबार नै स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि भेटिएका छैनन् । सोही दिन खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते भएका बारेकोट–४ का लालबहादुर नेपाली, बारेकोट–६ का रामचन्द्र चलाउने र विज्ञान बोहरालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए  ।

बरेकोटमा आइतबार बिहान सम्मा पनि वर्षा रोकिएको छैन । जसले गर्दा बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ५० जना अधिकारी बेपत्ताको खोजीमा जुटेका छन् भने झण्डै डेढ सय जना जनप्रतिनिधि र स्थानीय उद्दारमा खटिएको डीएसपी श्रेष्ठले बताए ।

दुई सय परिवारले घर छोडे

बाढीपहिरोका कारण बारेकोट गाउँपालिका ४ का झण्डै दुई सय परिवारले घर छोडेका छन् । सार्की टोलमा पहिरो गएपछि आसपासका दुई सय परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

बारेकोटका तोलखान, मैना, जिरी, भैलोखानका स्थानीय घर छोडेर विद्यालय र जंगलमा पाल टाँगेर बसेको डीएसपी श्रेष्ठले जानकारी दिए । जाजरकोट सदरमुकाम खलंगादेखि घटनास्थल पुग्न झण्डै दुई दिन पैदल हिँड्नुपर्छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्