काठमाडौँ : भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको छ ।
भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको हो । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले नेपालका प्रधानमन्त्री र भिनियाँ राजदूतलाई जोडेर गरिएका अनर्गल प्रचारप्रति कदम चाल्न भारतीय प्रेस काउन्सिललाई आग्रह गरिएको छ ।
काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको हस्ताक्षर सहितको पत्रमार्फत भारतीय मिडियाले आधारहिन समाचार पस्केको भन्दै आपत्ति जनाइएको छ । साथै त्यस्ता सामग्रीले नेपालको स्वाभिमान र निष्ठामाथि हमला भएको काउन्सिलले जनाएको छ ।
‘नेपालका प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतको प्रेम सम्बन्ध भएको भन्ने जस्ता कलोकल्पित र बनावटी भिडिओ भारतको जी न्युज च्यानलबाट प्रशारण भएका छन् । र जुन सामाजिक सञ्जालमा सनसनीपुर्ण रुपमा प्रचार गरिएको छ । यस्तो बनावटी भिडिओले कपोकल्पित सूचना मात्रै दिएको छैन, बरु सार्वभौम राष्ट्रको निष्ठामाथि आक्रमण पनि भएको छ,’ काउन्सिलले जारी गरेको पत्रमा उल्लेख छ ।
नेपालको सार्वभौमिकतामा आक्रमण हुने गरी अन्य टेलिभिजन च्यानलले पनि आधारहिन सामग्री उत्पादन र प्रशारण गरेकोमा काउन्सिलले ध्यानाकर्ष गरेको छ । यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेको ऐतिहासिक निर्णयमा पनि भारतीय टिभी च्यानलले बनावटी समाचार प्रशारण गर्न थालेको पत्रमा उल्लेख छ ।
भारतीय मिडियाले नेपालबारे टिप्पणी गरेकोमा नेपालको तर्फबाट कुनै कदम नचालिएको भन्दै सामाजिक सञ्जालमा प्रश्न सोध्न थालिएपछि काउन्सिलले यस्तो पत्र लेखेको हो । यसअघि अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले पनि भारतीय मिडियाबारे कानुनी तथा राजनीतिक उपचार खोज्नसकिने प्रतिक्रिया दिएका थिए ।
साथै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय मिडियाको गतिविधिप्रति आपत्ति जनाउँदै चेतावनी दिएका थिए । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भने यसबारे कदम अघि बढाएका छैनन् ।