काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पढ्दै नपढी विरोध गर्ने प्रवृत्ति देखिएको बताएका छन् ।
आफूले एमसीसी सम्झौता पढेको मान्छे धेरै नभेटेको बताउँदै उनले एमसीसीको विरोध गर्नेहरुको तर्क सुन्दा अचम्म लाग्ने गरेको बताए ।
विहीबार राष्ट्रियसभामा लामो मन्तव्य दिँदै प्रधानमन्त्रीले एमसीसीका विषयमा भने ‘एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका घरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?’
राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय योजना आयोगको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओली उपस्थित भएका थिए ।
यस क्रममा उनले एमसीसी सम्झौताको बचाऊ गर्दै भने, ‘..त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !’
प्रधानमन्त्री ओलीले देशको विकास हुन लागेकोमा चिन्ता लागेको हो भनी आलोचकलाई प्रश्न गरे । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?’
एमसीसीबारे प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै
अहिले केही केहीहरुले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेको मान्छे मैले त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका घरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?
खुट्टाले टेक्ट छोडेर हातले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टैले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेक्ने भनेको जे त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो ।
लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !
कागले कान लग्यो भन्दाखेरि लाँदा त दुख्छ होला नि ! दुख्या छैन भने होइन होला भन्ने थाहा पाउन प¥यो नि ! दुख्या छैन भने भने छाम्नु त प¥यो नि ! दुख्यो दुखेन पनि वास्ता नगर्ने छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने, यो प्रवृत्ति देख्दा अचम्म लाग्छ ।
अहिले यो सडकको विषय पनि बनेको छ, अन्तको पनि विषय बनेको छ । तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ।
कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?
ठीकै छ । यस विषयमा माननीयज्यूहरुसमक्ष आप्नो विचार अर्को समयमा राख्छु, छलफलमा आउने नै छ ।