काठमाण्डौं । नेपालको सबैभन्दा बढी भ्रमण गरिने गन्तब्यको रुपमा लुम्बिनी देखिएको छ ।
संघीय सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ७६/७७ अनुसार सन् २०१९ मा १७ लाख ७९ हजार ८६ जनाले लुम्बिनी भ्रमण गरेको देखिएको छ । सन् २०१८ मा १५ लाख १७ हजार १ सय ४५ जनाले लुम्बिनी भ्रमण गरेको सर्वेक्षणमा उल्लेख छ । लुम्बिनी भ्रमण गर्नेमा ७९ प्रतिशत नेपाली,११ प्रतिशत भारतीय र अन्य मुलुकका नागरिक १० प्रतिशत छन् ।
गत बर्षको तुलनामा यस वर्ष लुम्बिनी भ्रमण गर्ने पर्यटकको कूल संख्या २ दशमलव ३ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणले देखाएको छ । सन् २०१९ मा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको आगमनमा ५ दशमलव ८ प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १ दशमलव ९ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।
सन् २०१९ मा नेपाल भ्रमणमा आएका पर्यटकहरुमध्य मनोरञ्जनको उद्देश्यका आधारमा आउने पर्यटकको संख्या ६५ प्रतिशत देखिएको छ । पदयात्रा,पर्वतारोहण,तीर्थयात्रा र अन्य उद्देश्यले नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमसः१७ प्रतिशत,१४ प्रतिशत र ४ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।