Tuesday, December 6
Shadow

विद्राेेही नेकपासँग वार्ताकाे पहल


  • -इ
  • इ+

काठमाडौँ । सरकारले एक वर्षअघि नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताको वातावरण मिलाउन सरकारी नेकपाका सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेर जिम्मेवारी दिएको थियो । तर विद्राेही नेकपाले पक्राउ परेका सबै नेता–कार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वसर्त राखेपछि वार्ता हुन सकेन । अहिले उनै सासंद पाण्डेमार्फत वार्ताको पहल भइरहेको स्रोतले जनाएको छ । पाण्डेले एक महिनाअघि मात्र नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा र दसैंअघि सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेको स्रोतको भनाइ छ । बाँस्तोला चन्द समूहका पाँच सचिवालय सदस्यमध्ये एक तथा पश्चिम कमान्ड इन्चार्ज हुन् । कान्तिपुर दैनिकका मातृका दाहाल र लिला श्रेष्ठ लेख्छन्,- केही महिनायता चन्द समूह र सरकारले खटाएको प्रतिनिधिबीच तीन चरणमा अनौपचारिक कुराकानी भएको छ । तर दुवै पक्षले यसलाई औपचारिक रूपमा बाहिर ल्याउन चाहेका छैनन् ।

पाण्डेले विद्राेही नेकपाका शीर्ष नेतासँग आफू निरन्तर सम्पर्कमा भए पनि त्यो औपचारिक नरहेको बताए । प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएरै विप्लवका नेतासँग अनौपचारिक सम्पर्क गरिरहेको उनको भनाइ छ । ‘विप्लव पार्टीले सचिवालय सदस्यबाहेकसँग गरिएको कुराकानी पार्टीको आधिकारिक धारणा नहुने खबर पठाएपछि म त्यहीअनुसार नै वार्ता र संवादका लागि अनौपचारिक सम्पर्कमा छु, सरकारले पनि वार्ताबाट समाधान चाहेको छ,’ पाण्डेले भने । उनले कुन नेतासँग कहिले कहाँ भेट भयो भन्नेबारे भने खुलाएनन् ।

नेकपाले २०७५ फागुन १० गते नख्खुस्थित एनसेल टावरमा र फागुन २४ गते राति वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा विस्फोट गराएपछि सरकारले उसको गतिविधिमा प्रतिबन्ध लगाएको हो । उसका गतिविधि नियन्त्रण गर्न भनेर सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाएको छ तर एक वर्ष बितिसक्दा न उसका गतिविधि निस्तेज हुन सकेका छन् न वार्ता भएको छ । प्रतिबन्धपछि महासचिव नेत्रविक्रम चन्दसहित केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ता भने भूमिगत छन् । यसबीचमा नेकपाका ३ हजार २ सय ९८ जना नेता–कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले मुद्दा दायर गरेकामा २ हजार ७ सय १६ जना तारेख र धरौटीमा छुटेका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्